त्रिवेणी (नवलपरासी), ६ चैत । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को नवलपुरस्थित मध्यविन्दु साझेदारी वन उपभोक्ता समूहले जैविक मल उत्पादन सुरु गरेको छ। कावासोती नगरपालिका–१४मा अवस्थित गण्डकी प्रदेशकै एकमात्र साझेदारी वनमा यो पहल सुरु गरिएको हो।
वन क्षेत्रमा खेर गइरहेका झाडी, पातपतिङ्गर तथा अन्य जैविक पदार्थको सदुपयोग गर्दै मल उत्पादन थालिएको समूहका अध्यक्ष भगवान खनालले जानकारी दिनुभयो। उहाँका अनुसार यस कार्यक्रमले वन व्यवस्थापनलाई व्यवस्थित बनाउनुका साथै डढेलो नियन्त्रणमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।
अध्यक्ष खनालले भन्नुभयो, “झाडीको सदुपयोग, डढेलो जोखिम न्यूनीकरण र रासायनिक मलको विकल्पका रूपमा कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले योजना सुरु गरिएको हो।” उहाँले यसले वातावरण संरक्षण र दिगो कृषिमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
वनबाट सङ्कलित सामग्रीलाई मसिनो काटी गाईभैँसीको गोबर, खरानी र रातो माटोसँग मिसाएर प्राविधिक निगरानीमा मल तयार पारिने गरिएको छ। कार्यक्रमका संयोजक धनेश्वर कुँवरका अनुसार उत्पादन प्रक्रिया वैज्ञानिक ढङ्गले अघि बढाइएको छ र गुणस्तर कायम गर्न नियमित परीक्षणसमेत गरिनेछ।
साझेदारी वनको स्वरोजगार कार्यक्रम अन्तर्गत स्थानीय उपभोक्तालाई झाडी सङ्कलनदेखि मल उत्पादनसम्मका कार्यमा संलग्न गराइएको छ, जसले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ।
हाल प्रारम्भिक चरणमा रहेको यो परियोजनाबाट करिब एक सय दिनमा मल उत्पादन हुने र त्यसपछि लागत विश्लेषण गरी उचित मूल्य निर्धारणसहित बिक्री वितरण गरिने योजना रहेको जनाइएको छ। आगामी दिनमा उत्पादन विस्तार गरी अन्य स्थानमा समेत आपूर्ति गर्ने तयारी गरिएको छ।
यस पहलले वन संरक्षण, वातावरणीय सन्तुलन, रोजगारी सिर्जना तथा कृषि उत्पादन वृद्धि जस्ता बहुआयामिक लाभ दिने विश्वास गरिएको छ। सरोकारवाला निकायबाट यस्ता कार्यक्रमलाई थप प्रोत्साहन मिले दिगो विकासमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ।




.gif)





