म्याग्दी, १८ फागुन । म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायमा परम्परागत ‘तोरनल्ह’ (फागुपूर्णीमा) पर्वको रौनक छाएको छ। देशका विभिन्न क्षेत्रमा करिब ११ हजारको सङ्ख्यामा रहेको थकाली समुदायले हरेक वर्ष फागुपूर्णीमाको अवसरमा यो पर्व मनाउँदै आएका छन्।
फागुपूर्णीमाको अघिल्लो दिनदेखि सुरु हुने तोरनल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष सुन्दरमान शेरचनले जानकारी दिए। उनका अनुसार तीन दिन बिहान सबेरै उठेर चोखो निष्ठापूर्वक पितृको सम्झनामा पूजाआजा गर्ने, फूलप्रसाद चढाउने र आफन्तलाई निम्तो दिएर मिठा परिकार खुवाउने परम्परा छ। यस अवसरमा पुरुषहरूले परम्परागत तारो हान्ने (आर्चरी) खेल खेल्ने चलन रहेको छ।
मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ। घरपझोङ र थासाङ गाउँपालिकामा थकाली समुदायको बाहुल्य बसोबास छ भने म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी र दरवाङ क्षेत्रमा समेत थकाली समुदायको उल्लेख्य उपस्थिति रहेको छ। पर्व मनाउन घरबाहिर तथा विदेशमा रहेका थकालीहरू जन्मथलो फर्किएका छन्।
तोरनल्हको अवसरमा घर सिगारपटार गर्ने, महिला मौलिक पोशाकमा सजिएर नाचगान, गोटा खेल्ने र शुभकामना आदान–प्रदान गर्ने परम्परा छ। थकाली सेवा समिति बेनी क्षेत्रको आयोजनामा बेनीमा आइतबारदेखि तारो हान्ने प्रतियोगिता सुरु भएको छ।
यस वर्ष निर्वाचन आचारसंहिताको पालना गर्दै थकाली समुदायका सदस्यहरू मात्र भेला भएर पर्व मनाइरहेको थकाली सेवा समितिका शङ्करमान शेरचनले जानकारी दिए।




.gif)





