चितवन – विगतका वर्षमा यति बेला सौराहाका होटल ८० प्रतिशत हाराहारी भरिने गरेका थिए । यस वर्ष यति बेला आधा हाराहारी मात्र पर्यटक यहाँ आएका छन् ।मुख्य याममा पर्यटक नआउँदा व्यवसायीमा निराशा छाएको छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे फेब्रुअरी, मार्च र अप्रिल महिना सौराहाको मुख्य पर्यटकीय मौसम भएको बताउनुहुन्छ । गएकाे वर्ष यति बेला होटलका ८० प्रतिशत कोठा भरिने गरेका उल्लेख गर्दै यस वर्ष ५० प्रतिशतभन्दा कम कोठा बुक भएका उहाँको भनाइ छ ।अध्यक्ष पाण्डेले भन्नुभयो, ‘एकदमै राम्रो पर्यटकीय याममा पनि किन पर्यटक आएनन् हामी सोचमग्न छौँ ।’ यो बेलामा चितवन राष्ट्रिय निकुञ्जमा ढड्डी फाँडेर टाढासम्म देखिने भएकाले सजिलै वन्यजन्तु हेर्न सकिन्छ ।
मौसमका हिसाबले पनि गर्मी र जाडो दुवै नहुने भएकाले सबैका लागि उपयुक्त यही समय हो । सबै हिसाबले राम्रो भए पनि विदेशी पर्यटक न्यून मात्र आउँदा व्यवसाय प्रभावित भएको उहाँको भनाइ छ । सौराहामा मात्र नभएर देशभरको अवस्था उस्तै रहेको अध्यक्ष पाण्डेले बताउनुभयो ।उहाँले भन्नुभयो, ‘पर्यटक नआउनुको कारण खोज्नुपर्ने भएको छ ।’सङ्घका उपाध्यक्ष गुणराज थपलिया चुनावका कारण विदेशी पर्यटक नआउँदा सौराहामा पर्यटकको सङ्ख्यामा कमी आएको बताउनुहुन्छ । चुनावपछि पर्यटक बढ्ने उहाँले अपेक्षा गर्नुभयो ।
होटल व्यवसायी सुमन घिमिरे चुनावकाे मुखमै पर्यटकको आगमनमा कमी आएको बताउनुहुन्छ । विशेष अवस्थामा चुनाव हुन लागेको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय जगतमा यहाँको अवस्था शान्तिपूर्ण छ भन्ने सन्देश पुग्न जरुरी भएको बताउनुभयो ।युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा गएकाे वर्ष यति बेला दैनिक चार खेप गर्ने हात्तीले अहिले एक खेप मात्र गर्ने गरेको बताउनुहुन्छ । पर्यटकको आगमनमा कमी आएपछि व्यावसायिक रूपमा पालिएका हात्तीका सञ्चालक प्रभावित भएका छन् । रेष्टुरेन्ट व्यवसायीसमेत रहनुभएका खतिवडाका अनुसार पर्यटक नआएपछि सौराहाका रेष्टुरेन्टमा प्रत्यक्ष प्रभाव परेको छ । मुख्य मौसममा पर्यटक घटेपछि पर्यटकीय गतिविधिमा काम गर्ने समग्र व्यवसाय प्रभावित भएको उहाँले बताउनुभयो ।बनबास रिसोर्टका महाप्रबन्धक प्रकाश न्यौपाने सौराहामा यो मौसममा पर्याप्त पर्यटक आउने भए पनि यस वर्ष कमी आएको बताउनुहुन्छ । होटल क्षेत्रमा लामो अनुभव सगाल्नुभएका उहाँ पर्यटक आउनेमा आशावादी हुनुहुन्छ ।
सौराहाका १४८ होटलमा ७ हजार २०० पर्यटक अट्ने क्षमता छ । यस क्षेत्रमा प्रत्यक्ष रूपमा ६ हजार ४०० जनाले रोजगारी पाएको छ । अप्रत्यक्ष रोजगारी पाउनेको सङ्ख्या १२ हजारभन्दा धेरै छ ।चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायिक वनमा दुर्लभ एक सिङ्गे गैँडा, पाटेबाघ, घडीयाल गोहीलगायतका दुर्लभ वन्यजन्तु र चराचुरुङ्गी हेर्न यहाँ स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । यसका साथै सौराहामा थारु संस्कृति पनि पर्यटकका लागि रुचिकर बन्दछ । यसका साथै नेपालका विभिन्न सङ्घ संस्था कार्यक्रम गर्न सौराहा आउँछन् भने भारतीय नागरिक बढी मात्रामा यहाँ आउने गर्छन् ।




.gif)





