काठमाडौँ, ४ फागुन । वरिष्ठ निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ आगामी नयाँ वर्ष अर्थात् विसं २०८३ वैशाख १ गतेदेखि प्रदर्शन हुने भएको छ । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक तथा आर्थिक समस्या चित्रण गरिएको चलचित्रको प्रदर्शन मिति वितरक तथा प्रदर्शक सँगको छलफलमा तय गरिएको निर्देशक घिमिरेले जानकारी दिएका छन।
उनले भने, “मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, चलचित्रले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ । चलचित्र हेरिरहँदा दर्शकले आफ्नोपन र आफ्नो कथा पाउनु हुनेछ । नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेर काम गर्न पाउँदा उत्साहित छु ।”
चलचित्र ‘बलिदान’मा मदनकृष्ण श्रेष्ठ, ‘चिनो’मा स्वर्गीय अभिनेता सुनिल थापासँग काम गर्नुभएका निर्देशक घिमिरेले नयाँ र पुरानो पुस्तासँगको सहकार्यले राम्रो नतिजा दिनेमा विश्वास व्यक्त गरे । उनले समाजको तीतो यथार्थलाई चलचित्र मार्फत दर्शक समक्ष पु¥याउने बताए। ओजस्वी केसीले निर्माण ग्रेका उक्त चलचित्रलाई प्रसिद्ध छायाकार प्रमोद प्रधानले छायाङ्कन गरे ।
चलचित्रमा विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्य लगायतका कलाकारले अभिनय गरेका छन् । निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै चलचित्रमार्फत अभिनेत्रीका रूपमा दर्शकसामु ल्याउँदै छन ।
चलचित्रको प्राविधिक समूहमा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले ‘प्रोडक्सन डिजाइनर’को जिम्मेवारी सम्हालेका छन । चलचित्रमा रञ्जित गजमेरले सङ्गीत दिएका छन। ।




.gif)





