images

२०८३ आश्विन १७ गते

images
images
images

अर्जुनचौपारीको नवग्रहमा १० लाख दीप प्रज्वलन गरिने

अर्जुनचौपारीको नवग्रहमा १० लाख दीप प्रज्वलन गरिने

images
images
बुधवार, माघ २८ २०८२
बुधवार, माघ २८ २०८२
  • स्याङ्जा ।यही फाल्गुन ३ गते महाशिवरात्रिको पावन अवसरमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकास्थित नवग्रह मन्दिरमा ९ लाख ९ हजार ९ सय ९९ दीप प्रज्वलन गरिने भएको छ । नेपालकै पहिलो नवग्रह मन्दिरको रुपमा परिचित उक्त मन्दिरमा आयोजना गरिने दीप प्रज्वलन कार्यक्रमलाई भव्य र ऐतिहासिक बनाउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ । महाशिवरात्रि हिन्दू धर्मावलम्बीहरुको विशेष पर्वका रुपमा मनाइन्छ ।भगवान् शिवको आराधना, उपवास, जागरण र दीप प्रज्वलनजस्ता धार्मिक गतिविधिहरु यस पर्वका मुख्य आकर्षण हुन् । यही धार्मिक आस्थालाई थप सुदृढ गर्दै अर्जुनचौपारीको नवग्रह मन्दिरमा ९ लाख ९ हजार ९ सय ९९ दीप प्रज्वलन गरिनु विशेष महत्वका साथ हेरिएको छ । आयोजकका अनुसार उक्त दिन मन्दिर परिसरलाई दीपमालिकाले झिलिमिली बनाइनेछ भने हजारौं भक्तजनहरुको उपस्थितिले क्षेत्र नै आध्यात्मिक वातावरणले भरिपूर्ण हुने अपेक्षा गरिएको छ ।

    images
    images

    दीप प्रज्वलनसँगै सोही दिन विद्यालयस्तरीय भजन प्रतियोगिताको समेत आयोजना गरिएको छ । अर्जुनचौपारी गाउँपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने, मौलिक संस्कार–संस्कृति तथा आध्यात्मिक मूल्य–मान्यताको प्रवद्र्धन गर्ने उद्देश्यले प्रथम विद्यालयस्तरीय भजन प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । प्रतियोगिताले विद्यार्थीहरुलाई धार्मिक तथा सांस्कृतिक चेतनासँग जोड्दै सिर्जनशीलता अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।प्रतियोगितामा सहभागी हुने विद्यालयहरुले प्रस्तुत गर्ने भजनमा अर्जुनचौपारी गाउँपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय सम्भावनाहरुको प्रवद्र्धनका भाव समेट्नुपर्नेछ । साथै नैतिक शिक्षा, सदाचार, सामाजिक सद्भाव र आध्यात्मिक चेतनासम्बन्धी सन्देशलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरिएको छ । स्थानीय तथा परम्परागत भजनलाई विशेष रुपमा समावेश गर्न आग्रह गरिएको छ, जसले मौलिक संस्कृति संरक्षणमा टेवा पुग्ने गाउँपालिकाले अपेक्षा गरेको छ ।

    प्रतियोगितामा सहभागिता जनाउन इच्छुक विद्यालयहरुले फाल्गुन १ गतेभित्र गाउँपालिकाको कार्यालयमा गई आफ्नो विद्यालयको नाम दर्ता गराउनुपर्नेछ । समयमै नाम दर्ता गराएका विद्यालयहरुलाई प्रतियोगितामा सहभागिता जनाउन अवसर प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयहरुलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम हुने विद्यालयले २५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय र तृतीय हुने विद्यालयहरुले क्रमशः १५ हजार र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।कार्यक्रमकै अवसरमा ख्यातिप्राप्त कलाकारहरुद्वारा भजन कन्सर्ट पनि आयोजना गरिनेछ । चर्चित भजन गायक–गायिकाहरुको प्रस्तुतीले कार्यक्रमलाई थप आकर्षक र भव्य बनाउने अपेक्षा गरिएको छ । धार्मिक भजन तथा सांगीतिक प्रस्तुतीमार्फत उपस्थित भक्तजनहरुलाई आध्यात्मिक आनन्द प्रदान गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

    images
    images

    गाउँपालिकाले नवग्रह मन्दिरलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने दीर्घकान योजना अघि बढाएको छ । ९ लाख ९ हजार ९ सय ९९ दीप प्रज्वलनजस्तो विशाल धार्मिक कार्यक्रमले मन्दिरको प्रचार–प्रसारमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ । यस कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो ।स्थानीयवासीहरु पनि कार्यक्रमप्रति उत्साहित देखिएका छन् । महाशिवरात्रिको अवसरमा हुने दीप प्रज्वलन, भजन प्रतियोगिता र कन्सर्टले धार्मिक उत्सवलाई थप उल्लासपूर्ण बनाउने उनीहरुको भनाइ छ । विशेष गरी विद्यार्थीहरुलाई सहभागी गराइएकाले नयाँ पुस्तामा धर्म, संस्कृति र नैतिक मूल्यप्रति सकारात्मक सोच विकास हुने विश्वास गरिएको छ । समग्रमा, अर्जुनचौपारी गाउँपालिकामा महाशिवरात्रिको अवसरमा आयोजना गरिने ९ लाख ९ हजार ९ सय ९९ दीप प्रज्वलन तथा विद्यालयस्तरीय भजन प्रतियोगिताले धार्मिक आस्था, सांस्कृतिक संरक्षण र पर्यटन प्रवद्र्धनलाई एकैसाथ अघि बढाउने अपेक्षा गरिएको छ । गाउँपालिकाको पहलमा हुन लागेको यो कार्यक्रमले अर्जुनचौपारीलाई राष्ट्रियस्तरमै चिनाउने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend