काठमाडौँ, २० माघ । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन्। माघ २० गते बसेको सञ्चालक समितिको बैठकले शर्मा सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। उनको कार्यकाल चार वर्षको रहने कम्पनीले जनाएको छ।
सुमन शर्मा कागेश्वर मनोहरा नगरपालिका–८, काठमाडौंका बासिन्दा हुन्। उनले माछापुच्छ्रे बैंक, सनराइज बैंकमा सीईओको भूमिका निभाएका थिए भने ग्लोबल आइएमई बैंकमा डेपुटी सीईओको रूपमा काम गरेका छन्। उनीसँग दुई दशकभन्दा बढी बैंकिङ अनुभव छ।
नेपाल एसबिआई बैंकबाट बैंकिङ यात्रा सुरु गरेका शर्माले एनएमबि बैंकमा १० वर्ष काम गरेका थिए। उनका नेतृत्वमा प्रभु बैंकलाई पछिल्ला आर्थिक चुनौती र निष्क्रिय कर्जा नियन्त्रणमा सुधारको अपेक्षा गरिएको छ।
कम्पनीले आर्थिक वर्ष ०७८।७९ देखिनै लाभांश वितरण गर्न सकेको छैन। चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म निष्क्रिय कर्जा ७.९४ प्रतिशत पुगेको छ, जुन गत वर्षको ५.०६ प्रतिशत भन्दा बढी हो। यस वर्ष जोखिम व्यवस्थापनका लागि १ अर्ब ४५ करोड रुपैयाँ भन्दा बढी व्यवस्था गरिएको छ।
पछिल्लो ६ महिनामा बैंकले १ अर्ब १ करोड रुपैयाँ खुद नाफा गरेको छ। कम्पनीको चुक्तापूँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १४ अर्ब २२ करोड रुपैयाँ छ। प्रतिशेयर आम्दानी ८.६२ रुपैयाँ र नेटवर्थ १४६.१७ रुपैयाँ रहेको छ।




.gif)





