काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो छ महिनामा मुलुकको अर्थतन्त्रका समग्र सूचकहरू सन्तोषजनक देखिएका छन्। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको छ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले कम मुद्रास्फीति, उच्च विदेशी विनिमय सञ्चिति र बलियो शोधनान्तर अवस्थाका कारण अर्थतन्त्र तुलनात्मक रूपमा स्थिर रहेको संकेत गरेको हो।
प्रतिवेदन अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित रहेको छ। समीक्षा अवधिमा चालु खाता ४ खर्ब २९ अर्ब ९१ करोड रुपैयाँ र शोधनान्तर ५ खर्ब १ अर्ब २४ करोड रुपैयाँ बचतमा रहेको छ, जसले बाह्य क्षेत्रको स्थिति मजबुत बनेको देखाउँछ।
विदेश व्यापारतर्फ निर्यात ४३.८ प्रतिशतले वृद्धि भएको छ भने आयात १४.२ प्रतिशतले बढेको छ। निर्यातमा उल्लेख्य सुधार देखिए पनि आयातको निरन्तर वृद्धिले व्यापार घाटा अझै संरचनात्मक चुनौतीकै रूपमा रहेको संकेत गर्छ।
सरकारी वित्तीय अवस्थामा भने दबाब कायमै देखिएको छ। समीक्षा अवधिमा नेपाल सरकारको कुल खर्च ६ खर्ब ९० अर्ब २२ करोड रुपैयाँ पुगेको छ भने राजस्व परिचालन ५ खर्ब ७७ अर्ब ४० करोड रुपैयाँमा सीमित छ।
बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन ५.७ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशतले बढेको छ। वार्षिक आधारमा निक्षेप वृद्धिदर १४.८ प्रतिशत भए पनि कर्जाको वृद्धिदर ६.७ प्रतिशतमा सीमित रहनुले निजी क्षेत्रको कर्जा माग अझै सुस्त रहेको देखाउँछ।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत कायम भएको छ। ९१ दिन अवधिको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३५ प्रतिशत, वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.५६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.१२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
पुस मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ, जुन अमेरिकी डलरमा २२ अर्ब १७ करोड बराबर हो। राष्ट्र बैंकका अनुसार यो सञ्चितिले १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३९.१ प्रतिशत र अमेरिकी डलरमा ३२.३ प्रतिशतले वृद्धि भएको छ। पुस महिनामा मात्रै १ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ बराबरको रेमिटेन्स भित्रिएको छ, जसले विदेशी मुद्रा सञ्चिति थप सुदृढ बनाएको छ।




.gif)





