काठमाडौँ, १८ माघ । नेपालमा वित्तीय सेवामा पहुँच, प्रयोग तथा गुणस्तरमा उल्लेखनीय सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको वित्तीय समावेशीकरण सूचकांक अनुसार आर्थिक वर्ष २०२४।२५ मा समग्र सूचकांक ०.४७ बाट बढेर ०.५३ पुगेको छ।
नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाद्वारा प्रकाशित प्रतिवेदनले वित्तीय समावेशीकरणमा स्थिर र व्यापक प्रगति भएको देखाएको हो। राष्ट्र बैंकका अनुसार वित्तीय सेवामा पहुँच विस्तार, डिजिटल माध्यमको बढ्दो प्रयोग तथा सेवा गुणस्तरमा सुधारका कारण सूचकांकमा सकारात्मक वृद्धि भएको हो।
मानव विकास सूचकांक जस्तै विधिबाट गणना गरिएको यो सूचकांक ० देखि १ को मापनमा आधारित छ, जहाँ उच्च अंकले उच्च वित्तीय समावेशीकरण जनाउँछ। सूचकांक पहुँच, प्रयोग र गुणस्तर गरी तीन आयाम अन्तर्गतका ५५ वटा सूचकका आधारमा तयार गरिएको हो।
प्रतिवेदन अनुसार पहुँच सूचकांक ०.५३ पुगेको छ, जसले देशभर बैंक तथा वित्तीय संस्था, सेवा केन्द्र र डिजिटल वित्तीय सेवाको विस्तार भएको संकेत गर्छ। प्रयोग सूचकांक ०.५४ रहेको छ, जसले बैंकिङ, डिजिटल भुक्तानी, बीमा तथा अन्य वित्तीय सेवामा व्यक्ति र घरपरिवारको सहभागिता बढेको देखाउँछ।
त्यसैगरी, गुणस्तर सूचकांक ०.५० पुगेको छ। वित्तीय साक्षरतामा वृद्धि, उपभोक्ता संरक्षण संयन्त्रको सुदृढीकरण, पारदर्शिता अभिवृद्धि तथा ग्राहक अनुभवमा सुधारका कारण गुणस्तर सूचकांकमा उल्लेखनीय प्रगति भएको राष्ट्र बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंकले नीतिगत पहल, डिजिटल वित्तीय नवप्रवर्तन तथा नियामक सुधारले वित्तीय समावेशीकरणमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै आगामी दिनमा डिजिटल पूर्वाधार सुदृढीकरण, वित्तीय साक्षरताको प्रवर्द्धन तथा उपभोक्ता केन्द्रित वित्तीय सेवामा निरन्तर जोड दिनुपर्ने बताएको छ।




.gif)





