काठमाडौँ, १८ माघ । कोरियन प्रविधि र नेपाली उत्पादनको संयोजनमा तयार गरिएको प्रिमियम सौन्दर्य ब्रान्ड ORA Cosmetics को औपचारिक शुभारम्भ राजधानी काठमाडौँमा सम्पन्न भएको छ।
एनके कस्मेटिक प्रालि लिमिटेडद्वारा लाजिम्पाटस्थित होटल दुसीत प्रिन्सेसमा आयोजित विशेष समारोहका बीच ORA Cosmetics को सार्वजनिक उद्घाटन गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि दक्षिण कोरियाका राजदूत महामहिम पार्क ताए–यङ ले ब्रान्डको औपचारिक उद्घाटन गरे।
उद्घाटन समारोहमा नेपाल सरकारका प्रतिनिधि, उद्योग तथा व्यवसाय क्षेत्रका अगुवा, गैरआवासीय नेपाली संघका प्रतिनिधि, सौन्दर्य उद्योगका विज्ञ, सञ्चारकर्मी तथा विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
ORA Cosmetics अत्याधुनिक कोरियन प्रविधि, तीन दशकभन्दा बढी अन्तर्राष्ट्रिय अनुभव र नेपालमै उत्पादन हुने प्रणालीमा आधारित ब्रान्ड हो। कम्पनीका अनुसार कोरियाली सौन्दर्य उद्योगका एक वरिष्ठ विज्ञले प्राविधिक परामर्श प्रदान गरेका छन्, जसले विश्वप्रसिद्ध ब्रान्ड MISSHA मा कसमेटिक्स डेभलपर तथा अनुसन्धानकर्ताका रूपमा ३० वर्षभन्दा बढी अनुभव हासिल गरेका छन्।
नेपालको हावापानी र नेपाली उपभोक्ताको छालाको आवश्यकतालाई ध्यानमा राखी सुरक्षित, प्रभावकारी तथा अन्तर्राष्ट्रिय गुणस्तरका स्किन केयर, बडी केयर र सौन्दर्य उत्पादनहरू उपलब्ध गराउने उद्देश्यले ORA Cosmetics बजारमा ल्याइएको हो।
कम्पनीका अध्यक्ष बिनोद कुँवर का अनुसार हाल सम्म ORA Cosmetics परियोजनामा करिब १५ करोड रुपैयाँ लगानी भइसकेको छ भने आगामी चरणमा थप १० करोड रुपैयाँ लगानी गर्ने योजना रहेको छ। आवश्यक अत्याधुनिक मेसिनरी तथा उपकरणहरू व्यवस्थापन भइसकेको र छिट्टै उत्पादन सुरु गर्ने तयारीमा रहेको उनले जानकारी दिए।
मेसिनरी स्थापना पश्चात् कम्पनीले नेपालमै १०० भन्दा बढी प्रकारका सौन्दर्य उत्पादनहरू—कसमेटिक्स, स्किन केयर तथा बडी केयर सामग्री—उत्पादन गर्न सक्ने क्षमता राख्नेछ।
कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले भने, “यदि हामीले नेपालमै विश्वस्तरीय गुणस्तरको उत्पादन गर्न सक्यौँ भने अन्तर्राष्ट्रिय बजार हाम्रो लागि खुला छ। त्यसैले ORA Cosmetics मा सुरुदेखि नै गुणस्तरलाई पहिलो प्राथमिकता दिएका छौँ।”
ORA Cosmetics ले नेपालमै उद्योग स्थापना गरी स्थानीय रोजगारी सिर्जना गर्ने, आयात प्रतिस्थापन गर्ने तथा भविष्यमा अन्तर्राष्ट्रिय बजारमा नेपाली सौन्दर्य उत्पादन निर्यात गर्ने दीर्घकालीन लक्ष्य लिएको जनाएको छ।
प्रमुख अतिथि राजदूत पार्क ताए–यङले कोरियामा काम गरेर फर्किएका नेपालीहरूले नेपालमै उद्योग स्थापना गरिरहेकोमा खुसी व्यक्त गर्दै कोरियाली प्रविधि, सीप र पूँजीको प्रयोगमार्फत नेपालमा नयाँ व्यवसाय सुरु हुनु नेपाली अर्थतन्त्रका लागि सकारात्मक संकेत भएको बताए।
“कोरिया–नेपाल सहकार्यलाई अझ सुदृढ बनाउँदै यस्ता व्यवसायलाई प्रोत्साहन गर्न म प्रतिबद्ध छु,” उनले भने।
गुणस्तर, सुरक्षा र विश्वसनीयतालाई केन्द्रमा राख्दै अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उत्पादन गर्दै नेपाललाई विश्वस्तरीय सौन्दर्य उत्पादनको केन्द्र बनाउने लक्ष्य सहित ORA Cosmetics ले आफ्नो यात्रा सुरु गरेको कम्पनीले जनाएको छ।




.gif)





