images

२०८३ आश्विन १७ गते

images
images
images

हेम–गङ्गा पन्छी अनुसन्धान तथा संरक्षण सम्मान अर्पण समारोह सम्पन्न

हेम–गङ्गा पन्छी अनुसन्धान तथा संरक्षण सम्मान अर्पण समारोह सम्पन्न

images
images
आइतवार, माघ १८ २०८२
आइतवार, माघ १८ २०८२
  • काठमाडौँ, १८ माघ । वरिष्ठ चित्रकार, चराविद् तथा कवि हेम पौड्यालको दोस्रो स्मृति दिवसको अवसरमा त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत प्राकृतिक विज्ञान संग्रहालय, स्वयम्भू, काठमाडौँको आयोजनामा तथा कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको सहआयोजनामा त्रिभुवन विश्वविद्यालय, प्राकृतिक विज्ञान संग्रहालय हेम–गङ्गा पन्छी अनुसन्धान तथा संरक्षण सम्मान अर्पण तथा पन्छी चित्रकला हस्तान्तरण समारोह सम्पन्न भएको छ।

    images
    images

    कार्यक्रम प्राकृतिक विज्ञान संग्रहालयका प्रमुख डा.ईशान गौतमको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कलाकार के.के.कर्माचार्य प्रमुख अतिथि तथा त्रि.वि. विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा.शंकरप्रसाद खनाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

    सो अवसरमा वरिष्ठ पन्छी तथा वन्यजन्तुविद् डा.हेमसागर बराललाई त्रिभुवन विश्वविद्यालय, प्राकृतिक विज्ञान संग्रहालय हेम–गङ्गा पन्छी अनुसन्धान तथा संरक्षण सम्मान प्रदान गरिएको थियो। सम्मान अर्पणका क्रममा सभापति डा.ईशान गौतमले माला, विशिष्ट अतिथि प्रा.डा.शंकरप्रसाद खनालले दोसल्ला तथा प्रमुख अतिथि के.के.कर्माचार्यले सम्मान–पत्र प्रदान गर्नुभएको थियो।

    images
    images

    त्यसैगरी, कवि तथा चित्रकार हेम पौड्यालद्वारा सिर्जना गरिएका चराका २० वटा तैलीय चित्र प्राकृतिक विज्ञान संग्रहालयका लागि उहाँकी धर्मपत्नी तथा वरिष्ठ साहित्यकार गङ्गा कर्माचार्य पौड्यालले संग्रहालय प्रमुख डा.ईशान गौतमलाई हस्तान्तरण गर्नुभएको थियो। सो अवसरमा संग्रहालयको तर्फबाट गङ्गा कर्माचार्य पौड्याललाई कदर–पत्र अर्पण गरिएको थियो।

    कार्यक्रम वनस्पतिशास्त्र विभागकी उप–प्राध्यापक बिमला शाक्यको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा सभापति डा। गौतम, प्रमुख अतिथि के।के। कर्माचार्य, विशिष्ट अतिथि प्रा.डा.खनाल, सम्मानित व्यक्तित्व डा.बराल, गङ्गा कर्माचार्य पौड्याल तथा वरिष्ठ साहित्यकार प्रा.डा.रामप्रसाद ज्ञवालीलगायतले हेम पौड्यालको व्यक्तित्व र कृतित्व माथि प्रकाश पार्नुभएको थियो।

    सहआयोजक कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकका प्रकाशक तथा सम्पादक निबन्ध आर्यालले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा अनिता ढकाल र रेणुका भट्टराईले कवि हेम पौड्यालका कविता वाचन गर्नुभएको थियो।

    यसै अवसरमा हेम पौड्यालको परिवारको तर्फबाट गङ्गा कर्माचार्य पौड्यालद्वारा त्रिभुवन विश्वविद्यालय, प्राकृतिक विज्ञान संग्रहालयमा रु.पाँच लाखको अक्षयकोष स्थापना गरिएको जानकारी गराइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend