शिव न्यौपाने,अष्ट्रेलिया । अष्ट्रेलियाको कृषि क्षेत्र केवल उत्पादनमा सीमित नरही पर्यटनसँग पनि सफलतापूर्वक जोडिएको देखिन्छ। गत हप्ता अष्ट्रेलियाको भिक्टोरिया राज्यस्थित एक चेरी फार्मको अवलोकन गर्दा कृषि पर्यटनको प्रभावकारी अभ्यास प्रत्यक्ष अनुभव गर्न पाइयो।
उक्त फार्ममा हजारौं चेरीका रूखहरू व्यवस्थित रूपमा रोपिएका छन्। चेरी सिजन सुरु भएसँगै सयौं घरेलु पर्यटकहरू आफ्ना पनेट (टोकरी) बोकेर फार्ममा आउने गर्छन्। फार्मको नियमअनुसार प्रवेश शुल्क तिरेपछि पर्यटकहरूले चाहेजति चेरी खान पाउँछन्, तर घर लैजान चाहेमा छुट्टै शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ। यस किसिमको मोडेलले किसान र पर्यटक दुवैलाई फाइदा पुर्याएको छ।
अष्ट्रेलियामा हाल ८० हजारभन्दा बढी कृषि व्यवसाय सञ्चालनमा छन्। कृषि क्षेत्रमा भएको व्यापक यान्त्रिकीकरण र व्यावसायिक विस्तारका कारण किसान जनसंख्या तुलनात्मक रूपमा कम भए पनि उत्पादन अत्यन्त उच्च छ। यही कारण अष्ट्रेलिया चीनलगायत अन्य देशहरूमा ठूलो मात्रामा कृषि उत्पादन निर्यात गर्न सफल भएको छ। कृषि निर्यातबाट अष्ट्रेलियाले प्रत्येक वर्ष अरबौं डलर आम्दानी गर्दै आएको छ।
कृषि क्षेत्रमा उपलब्ध रोजगारीका अवसरहरूले युरोप र पूर्वी एसियाली देशहरूबाट काम गर्ने छुट्टी भिसामा आउने हजारौं युवालाई पनि आकर्षित गरेको छ। यसले कृषि क्षेत्रलाई अन्तर्राष्ट्रिय श्रम बजारसँग समेत जोडेको छ।
खाद्य शब्दकोश लेखकको हैसियतले अष्ट्रेलियाको कृषि उत्पादनको सौन्दर्य, व्यवस्थापन र आर्थिक योगदानले गहिरो प्रभाव पारेको छ। यदि यस्तै किसिमको कृषि पर्यटन र व्यावसायिक मोडेल नेपालमा पनि लागू गर्न सकियो भने, कृषि क्षेत्रमार्फत उल्लेखनीय आर्थिक उपलब्धि हासिल गर्न सकिने देखिन्छ।
नेपालमा पर्याप्त कृषि सम्भावना, विविध भौगोलिक अवस्था र मौसमी उत्पादनको फाइदा उठाउँदै कृषि पर्यटनलाई प्रवर्द्धन गर्न सकेमा यसले किसानको आय वृद्धि, रोजगारी सिर्जना र समग्र अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउन सक्ने अपेक्षा गर्न सकिन्छ।




.gif)





