सिन्धुली । सिन्धुलीमाढीमा आजदेखि सातौँ सिन्धुली महोत्सव २०८२ सुरु भएको छ। “सिन्धुली महोत्सव २०८२ को पहिचान, समुन्नत र समृद्ध सिन्धुली हाम्रो अभियान” भन्ने नारासहित आयोजना गरिएको महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले गर्नुभएको हो।
सिन्धुली उद्योग वाणिज्य संघ र कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा सुरु भएको महोत्सव माघ १९ गतेसम्म सञ्चालन हुनेछ। उद्घाटन समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले महोत्सवले सिन्धुलीका उत्पादन र बजारबीच सम्बन्ध जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। पछिल्लो समय देशको आर्थिक क्षेत्रमा अनिश्चितता र अन्योलता बढेको उल्लेख गर्दै उहाँले निर्वाचन प्रक्रियाले आर्थिक गतिविधिमा आशा जगाएको धारणा राख्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले सिन्धुलीको पहिचान बनेका जुनार, सुन्तला लगायत फलफूल तथा तरकारीलाई वर्षभरि बजारमा उपलब्ध गराउन ठूलो शीतभण्डार निर्माण आवश्यक रहेको बताउनुभयो। किसानले उचित मूल्य पाउनुपर्नेमा उहाँको जोड थियो।
मेयर पोखरेलले जिल्लाको पोल्ट्री उद्योगले उल्लेखनीय सफलता हासिल गरेको उल्लेख गर्दै सिन्धुली मासु उत्पादनमा आत्मनिर्भर बन्दै गएको बताउनुभयो। साथै, दक्षिण कोरियाबाट ल्याइएका होलिस्ट जातका उन्नत गाईबाट उत्पादित दुग्धजन्य वस्तु तथा पशुपालन प्रवर्द्धनमा महोत्सवले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले महोत्सव मनोरञ्जनको थलो मात्र नभई स्थानीय उत्पादन र उपभोक्ताबीचको मिलन बिन्दुका रूपमा विकास हुने बताउनुभयो। जिल्लामा उत्पादन हुने रैथाने बाली, जुनार, सुन्तला लगायत कृषिजन्य उत्पादनको प्रचार–प्रसारमार्फत लगानीमैत्री वातावरण निर्माण गर्न महोत्सव सफल हुने उहाँको भनाइ थियो।
उद्घाटन समारोहमा मौलिक नेपाली पञ्चेबाजा, नेवार, मगर, सुनुवार, तामाङ लगायत विभिन्न जातजातिले आफ्ना मौलिक भेषभूषासहित झाँकी प्रदर्शन गरेका थिए। कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, तथा विभिन्न जिल्लाबाट आएका उद्योग वाणिज्य संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
आयोजकका अनुसार महोत्सवबाट बचत भएको रकम विपन्न नागरिक उपचार कोषमा जम्मा गरिनेछ भने एम्बुलेन्स (सवारी साधन) खरिद गर्ने लक्ष्यसमेत लिइएको छ। महोत्सवको उद्देश्य जिल्लामा व्यवसायिक प्रवर्द्धन, नयाँ लगानी सम्भावनाको पहिचान, लगानीमैत्री वातावरण निर्माण तथा धार्मिक र पर्यटन क्षेत्रको विकास गर्नु रहेको छ।
कमलामाई नगरपालिका–६ स्थित सदरमुकामको खुल्लामञ्चमा सञ्चालन भइरहेको महोत्सवमा करिब ३०० भन्दा बढी स्टल रहेका छन्। स्टलहरूमा रैथाने बाली, कृषिजन्य उत्पादन, हस्तकला, घरेलु उद्यमका सामग्री, अटोमोबाइल्स, यान्त्रिक उपकरण, सूचना तथा इलेक्ट्रोनिक्स सामग्री प्रदर्शन तथा बिक्रीमा राखिएका छन्।
त्यसैगरी जडीबुटी, बनपैदावार, व्यापारिक सेवा, होटल तथा रेष्टुरेन्ट, जातीय तथा परम्परागत खानाका परिकार, सरकारी कार्यालय, शैक्षिक तथा वित्तीय संस्थाका सामग्रीसमेत प्रदर्शनमा राखिएका छन्।
महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरूको सांस्कृतिक प्रस्तुति, अन्तरविद्यालय नृत्य प्रतियोगिता, क्लब तथा समूह नृत्य, लोपोन्मुख खैजडी बाजा प्रतियोगिता, रत्यौली प्रतियोगिता, जातीय झाँकी प्रदर्शन, मम्मी आइडल डान्स प्रतियोगिता, सर्कस, पिङलगायत विविध आकर्षण रहने आयोजकले जनाएको छ।
महोत्सव अवलोकनका लागि प्रवेश शुल्क ६० रुपैयाँ तोकिएको छ भने विद्यार्थी र एकल महिलाका लागि परिचयपत्रका आधारमा ४० रुपैयाँ प्रवेश शुल्क लाग्नेछ। पूर्ण अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई परिचयपत्र सहित निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।




.gif)





