images

२०८३ आश्विन १८ गते

images
images
images

निर्वाचनको माहोलबीच किसानलाई खेतीपातीको चटारो

निर्वाचनको माहोलबीच किसानलाई खेतीपातीको चटारो

images
images
बिहिवार, माघ ८ २०८२
बिहिवार, माघ ८ २०८२
  • महोत्तरी, ८ माघ । मुलुकमा प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल बढ्दै जाँदा महोत्तरीका किसानलाई भने खेतीपातीको चटारो छ । आगामी फागुन २१ मा हुने निर्वाचनका लागि मङ्गलबार उम्मेदवारले मनोनयनपत्र दर्ता गराइसकेका छन् । 

    images
    images

    निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम पर्वजस्तै हुने भए पनि यहाँका आमकिसान भने आफ्नै काममा व्यस्त छन् । वसन्तपञ्चमी (श्रीपञ्चमी) पर्वका लागि केशोर (माटो मुनि फल्ने मधेसको फलविशेष) खनेर बजार पु¥याउन, उखु काटेर चिनी उद्योग लिन र वैशाखी तरकारी (चैत वैशाखमा उत्पादन लिइने) लगाउने बेला घर्कंदै गर्दा हाल किसानलाई कामको भ्याइनभ्याइ परेको हो । 

    महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा वसन्तपञ्चमीका दिन गरिने सरस्वती पूजनोत्सवमा केशोर मुख्य प्रसाद सामग्री मानिने परम्परा छ । केशोरखेती गरिने बर्दिबास, गौशाला र भङ्गाहा नगरक्षेत्रका किसान हाल दिनरात नभनी केशोर खन्ने र बजार पु¥याउने काममा व्यस्त छन् ।

    images
    images

    “केशोरको त सिजन नै यही श्रीपञ्चमी पर्व हो, यसबेला बेच्न सकिएन भने पछि राम्रो भाउ पाइँदैन”, करिब एक बिघा क्षेत्रफलमा यो खेती गर्नुभएका बर्दिबास–७ मनहरिपुरका किसान निरबहादुर खत्री भन्नुहुन्छ, “चुनाव लाग्यो रे भन्ने त सुन्दछु , तर केशोर यसैबेला बेच्नुपर्ने चटारोले चुनावको रमाइलो हेर्ने फुर्सद छैन ।” 

    श्रीपञ्चमीपछि फुर्सदमा दुई÷चार दिन चुनावको रमाइलो हेर्ने उहाँको धोको छ । यसपालि श्रीपञ्चमी पर्व शुक्रबार परेको छ । त्यसैले बिहीबारभित्रै केशोर बजार पु¥याइसक्नुपर्ने हुँदा फुर्सद नै नपाइएको बर्दिबास–९ पशुपतिनगर बनरझुल्लाका किसान भोला महतो बताउनुहुन्छ ।

    खत्री र महतोजस्तै मनहरिपुरकै ७० वर्षीय विन्देश्वर यादव पनि केशोर खन्ने र बेच्ने कामको धपेडीमा हुनुहुन्छ । “केशोर खन्न अब ढिलो गर्न हुन्न, श्रीपञ्चमीका लागि बिहीबारसम्म बजार हुन्छ, त्यसैले घरका सबै केशोर खन्न जुटेका छौँ”, उहाँले भन्नुभयो,“यहाँको केशोर वसन्तपञ्चमी पर्वमा पूर्वको मेची पारिसम्म पुग्ने गरेको छ ।”

    केशोरजस्तै उखु र वैशाखी तरकारी लगाउने किसानलाई पनि कामको भ्याइनभ्याइ छ । तयार भएको उखुबाली काटेर चिनी उद्योग पु¥याउने र नयाँ उखु लगाउने यही बेला हो । यसले गर्दा उखु किसान धमाधम यसै काममा लागिरहेका छन् । 

    “चुनावको रमाइलो त हेर्न मन छ नि, तर अब काट्न ढिलो गरे मुखमा आएको उखु खेतमै सुक्छ”, गौशाला–१० बटुवाका किसान अरुण कुशवाहा भन्नुहुन्छ, “यसैबेला नयाँ उखु लगाउनु पनि छ, उखु रोप्न ढिलो भए खेतको चिस्यान सुकेर नउम्रने समस्या पर्छ ।” जिल्लाको उत्तरी क्षेत्रको उखु र केशोर दुवै मुख्य नगदेबाली हुन् । किसानको वर्षभरिको गुजारा यिनै उत्पादन बेचेर व्यवस्थापन गर्नुपर्ने हुँदा कामको चटारो रहेको कुशवाहाको भनाइ छ ।

    केशोर र उखुजस्तै जिल्लाका सबै भेगका किसानलाई वैशाखी तरकारी लगाउने चटारो छ । वैशाखी तरकारी पनि ढिलोमा माघ १५ भित्र रोपिसक्नु पर्ने मान्यता छ । किसान खेतीपातीमा व्यस्त भएकाले चुनावको मनोनयन दाखिला गर्ने कार्यक्रममा पनि धेरैको उत्साहजनक सहभागिता नभएको दलकै नेताहरू स्वीकार्छन् ।

    “हामी निर्वाचन अभियानकै क्रममा किसानबीचमै छौँ”, भङ्गाहा–९ सखुवाटोलका बासिन्दा नेपाली कांग्रेसका स्थानीय नेता सुरेश यादव भन्नुहुन्छ, “अहिले किसान खेतीपातीमा व्यस्त छन्, यो सकेपछि भने बिस्तारै निर्वाचन अभियानमा जोडिएलान् ।” 

    यहाँका किसान निर्वाचनप्रति अलि उत्साह पनि मरेको बताउँछन् । आफूहरुको सुविधाप्रति तीनै तहका सरकार उदासीन रहेकाले खासै चासो नरहेको किसानको भनाइ छ । अधिकांश नेपालीका लागि कृषि मुख्य पेसा रहेकाले यसपालिको चुनावमा यससम्बन्धी विशेष सुविधाका प्रतिबद्धता दल र उम्मेदवारबाट आउनपर्ने किसानको माग छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend