काठमाडौँ, ५ माघ । आज माघ शुक्ल पक्षको प्रतिपदा तिथि रहेको छ भने ग्रेगोरियन पात्रो अनुसार सन् २०२६ जनवरी १९ तारिख पर्छ। आजका दिन सोनाम ल्होछार तथा श्रीबल्लभ जयन्ती पनि मनाइँदैछ।
हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन मानिन्छ। यस दिन देवाधिदेव महादेव शिवको विशेष पूजाआजा तथा व्रत गर्ने परम्परा रहिआएको छ। श्रद्धालुहरूले बिहान सूर्य उदयसँगै सोमबारको व्रत सुरु गरी सूर्यास्तपछि सम्पन्न गर्ने गर्छन्।
सोमबारको व्रतमा दिनभर शिव र पार्वतीको पूजा–आराधना गरिन्छ। बेलुकाको आरती सकेपछि मात्रै भोजन गर्ने चलन छ। शास्त्रीय मान्यताअनुसार कुनै पनि पूजा आरम्भ गर्नु अघि गणेश पूजन अनिवार्य मानिन्छ।
धार्मिक विश्वास अनुसार सोमबारको उपवास बस्दा मनोकामना पूरा हुने, मानसिक शान्ति प्राप्त हुने तथा ज्ञान–बुद्धि वृद्धि हुने विश्वास छ। विशेषगरी अविवाहित महिलाहरूले असल जीवनसाथी प्राप्तिको कामना सहित सोमबार व्रत बस्ने परम्परा आज पनि प्रचलित छ।
धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने सोमबारको व्रत आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ।




.gif)





