images

२०८३ आश्विन १८ गते

images
images
images

गोलभेँडा खेतीबाट मनग्य आम्दानी

गोलभेँडा खेतीबाट मनग्य आम्दानी

images
images
आइतवार, माघ ४ २०८२
आइतवार, माघ ४ २०८२
  • सर्लाही, माघ ४ गते । गोलभेँडाको सहर भनेर चिनिने सर्लाहीका किसानले यस वर्ष गोलभेँडा खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् ।अघिल्ला वर्षहरुमा गोलभेँडाको मूल्य नपाएर सडकमै फ्याक्नुपर्ने र खेतबारीमै कुहिएर जाने गरेको भए पनि यो वर्ष गोलभेँडाले नै किसानलाई मालामाल बनाइदिएको हो । यहाँका किसान अहिले दिनभर गोलभेँडा टिप्ने र बजारसम्म पुर्‍याएर बिक्री गर्ने काममा व्यस्त छन् ।प्रसस्त मूल्य पाउँदा यो वर्ष एक कठ्ठाको गोलभेँडा बिक्रीबाट ८० हजारदेखि एक लाख रुपियाँसम्म आम्दानी भएको किसानको भनाइ छ । एक बिघामा गोलभेँडा खेती गर्नुभएका लालबन्दी नगरपालिका–११, हीरापुरका सन्जिवकुमार महतोले यो वर्ष ३०० क्रेट (कम्तीमा सात हजार ५०० केजी) गोलभेँडा बिक्री गरिसक्नुभएको छ ।

    images
    images

    एक क्रेटमा २५ देखि २७ केजीसम्म गोलभेँडा हुन्छ । आफूले यो वर्ष गोलभेँडा प्रतिक्रेट दुई हजारदेखि दुई हजार ५०० रुपियाँसम्ममा बिक्री गरेको महतोले बताउनुभयो ।एक बिघामध्ये आठ कठ्ठाको गोलभेँडा बिक्री गरिसक्नुभएका महतोले व्यापारीसँग सात लाख बढी पैसा बुझिसक्नुभएको छ । “गत वर्षहरुमा त यो समयमा १००/१५० रुपियाँ क्रेटले गोडभेँडा बेचियो तर यो वर्ष अहिलेसम्म एक हजार ८०० देखि दुई हजार रुपियाँसम्म भाऊ पाइरहेका छौँ,” महतोले भन्नुभयो, “अझै केही समय यही भाऊ रहीरह्यो भने किसानलाई धेरै नै राहत हुन्छ ।”गत वर्षहरुमा बिक्री नभएर खेतमै गोलभेँडा कुहिएर नष्ट हुँदा भएको क्षति यो वर्ष पूर्ति भएको महतोको भनाइ छ । गत वर्ष गोलभेँडा बिक्री नहुँदा खेत ठेक्कामा लिएर खेती गरेका किसान सबैभन्दा बढी मारमा परेका थिए ।  सर्लाहीका किसानले यो वर्ष सुरुसुरुमा गोलभेँडा प्रतिक्रेट दुई हजार पाँच सय रुपियाँसम्ममा बिक्री गरे । अहिले पनि यहाँको थोक बजारमा गोलभेँडा प्रतिक्रेट एक हजार सात सयदेखि दुई हजार रुपियाँसम्ममा बिक्री भइरहेको छ ।

    हरिवन नगरपालिका–२, अत्रौलीका किसान रमेश महतोले आफ्नै मोटरसाइकलमा राखेर बागमतीको जिरायतसम्म गोलभेँडा पु¥याउँदा व्यापारीले प्रतिक्रेट दुई हजार १०० रुपियाँसम्म मूल्य दिएको बताउनुभयो । १० कठ्ठामा लगाएको गोलभेँडा भर्खरै फल्न थालेकाले राम्रो मूल्य पाउँदा दुई/चार लट टिपेर बेच्दा नै एक लाख रुपियाँ आम्दानी गरिसकेको महतोले बताउनुभयो ।गोलभेँडा प्रतिक्रेट ५०० रुपियाँसम्ममा बिक्री हुँदा पनि किसानलाई फाइदा नै हुने महतोको भनाइ छ । “अहिलेकै जति क्रेटको अठार सय/दुई हजारसम्ममा बिक्री गर्न पाए त हामी सबै किसान मालामाल हुने थियौँ,” महतोले भन्नुभयो, “अब चर्किएर घाम लाग्न थालेकाले जताततै गोलभेँडा पाकेर अत्यधिक उत्पादन भई भाऊ घट्छ कि भन्ने चिन्ता छ ।”किसानले बजारमा फाट्टफुट्ट मात्रामा भारतीय गोलभेँडा भित्रने थालेकाले त्यसलाई रोक्न माग गरेका छन् । “अहिलेसम्म त राम्रो मूल्य पाइरहेका छौँ तर केही दिनदेखि बजारमा विस्तारै भारतीय गोलभेँडा भित्रिन थालेको छ,” हरिवन नगरपालिका–४, सासापुरका किसान मोहम्मद क्यामुदिन अन्सारीले भन्नुभयो,“सरकारले भारतीय गोलभेँडा रोकिदियो भने यहाँका किसानलाई अघिल्ला वर्षहरुको घाटा पूर्ति हुने अवस्था हुन्छ ।”

    images
    images

    आठ बिघा खेत भाडामा लिएर गोलभेँडा खेती गर्नुभएका अन्सारीले मल, विषादी, जनलगायतमा लाखौँ रुपियाँ खर्चिएर उत्पादन गरिएको गोलभेँडा उत्पादन तथा बिक्रीमा सरकारले कुनै सहयोग नगरेको गुनासो गर्नुभयो । यो वर्ष कात्तिक मध्यतिर भारी वर्षा भइ गोलभेँडाको बेर्ना नष्ट भएर उत्पादन कम भएकाले गोलभेँडा मूल्य आकासिएको हो ।लालबन्दी बजारका व्यापारी मोहम्मद उस्मानले अघिल्ला वर्षहरुको तुलनामा यो वर्ष बजारमा गोलभेँडा निकै कम आइरहेकाले किसानले राम्रो मूल्य पाएको बताउनुभयो । “मध्य कात्तिकको वर्षाले गोलभेँडाको बेर्ना नष्ट गरेपछि धेरै किसानले फेरि बेर्ना सार्न बीउ नै पाएनन्,” व्यापारी उस्मानले भन्नुभयो, “किसानले कम लगाएका र उत्पादन पनि घटेकाले यो वर्ष गोलभेँडाको भाऊ बढी भएको हो ।”कृषि ज्ञान केन्द्र सर्लाहीको तथ्याङ्क अनुसार जिल्लाभर दुई हजार ५०० हेक्टरमा गोलभेँडा खेती हुने गरेको छ । विशेष गरुी जिल्लाको उत्तरी भेगको लालबन्दी, ईश्वरपुर, हरिवन र बागमतीमा बढी मात्रामा व्यावसायिक रुपमा गोलभेँडा खेती हुने गरेको छ ।

    जिल्लाका किसानले मुख्यगरी लालबन्दीस्थित थोक तरकारी बजार र सासापुर तीनघरेमा रहेको गोलभेँडा सङ्कलन केन्द्रमा ल्याएर गोलभेँडा बिक्री गर्ने गरेका छन् । किसानले यहाँ ल्याएर बिक्री गरेको गोलभेँडा काठमाडौँ, पोखरा, जनकपुर, वीरगन्ज, हेटौंडा, नारायणघाटलगायतका सहरमा निर्यात हुने गरेको छ ।व्यापारीका अनुसार सर्लाहीबाट अहिले दैनिक एक हजार क्रेट गोलभेँडा देशका विभिन्न सहरमा पुगिरहेको छ । किसानले साइकल, मोटरसाइकल, टेम्पु, टायरगाडामा हालेर बजारसम्म ल्याएर बिक्री गर्ने गोलभेँडा व्यापारीले क्रेटमा प्याकिङ गरेर विभिन्न सहरमा पुर्‍याइ बेच्ने गरेका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend