काठमाडौँ, २ माघ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८१।८२ को मुनाफाबाट सेयरधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। बुधबार सम्पन्न कम्पनीको १८औँ वार्षिक साधारणसभाले सेयरधनीलाई प्रतिकित्ता ३० रुपैयाँका दरले नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो।
साधारण सभालाई सम्बोधन गर्दै टेलिकमका सञ्चालक समिति अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले आगामी दिनमा मेघा परियोजना सञ्चालन गर्नुपर्ने अवस्था र थप पुँजी आवश्यक परेमा बोनस सेयरसमेत उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरिन्।
उनले पछिल्लो समय डाटा सेवातर्फ ग्राहकको आकर्षण तीव्र रूपमा बढ्दै गएको उल्लेख गर्दै डाटाको गुणस्तर सुधार, लागत प्रभावी सेवा विस्तार र प्रभावकारी रणनीति मार्फत बजार हिस्सा वृद्धि गर्न व्यवस्थापनलाई निर्देशन दिइन्।
आर्थिक वर्ष २०८१।८२ मा नेपाल टेलिकमले ३८ अर्ब १९ करोड रुपैयाँ आम्दानी गर्दै करिब ६ अर्ब रुपैयाँ नाफा आर्जन गर्न सफल भएको जनाएको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा तथा खेलकुदलगायत विभिन्न क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको पनि जानकारी दिएको छ।




.gif)





