images

२०८३ आश्विन १८ गते

images
images
images

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

images
images
शुक्रवार, माघ २ २०८२
शुक्रवार, माघ २ २०८२
  • म्याग्दी, २ माघ । यहाँका एक जना किसानले एक सय २० मुरी धान फलाएका छन । मङ्गला गाउँपालिका–२ सिमका किसान ध्रुव खत्रीले यस वर्ष उक्त परिणामको धान उत्पादन गरेका हुन। खत्री सम्भवतः जिल्लामा सबैभन्दा धेरै धान फलाउने किसान भएको दाबी गरिएको छ । खत्रीको दुईतले घरमा राखिएका भकारी धानले भरिएका छन् ।

    images
    images

    “एक सय रोपनी खेतमा एक सय ५० मुरी धान फलाउने लक्ष्य थियो”, उनले भने, “गत वर्षको तुलनामा २० मुरी बढी धान उत्पादन भए पनि मौसमले साथ नदिँदा लक्ष्यभन्दा कम भयो ।” सिमकाजी ब्रर्दश भेन्चर प्रालिमार्फत रैथाने गौरीया, जेठोबुढो धान, मकै र गहुँखेतीका साथै खत्रीले भैँसीपालन गरेका छन ।

    म्याग्दी नदीको किनारमा सिँचाइको सुविधा भएको उर्वरायुक्त सिम, सिमलचौर, बाबियाचौर, पोक, सातबिसे, सेरा, पिपलबोट, रणवाङ्ग र छिस्वाङको फाँट जिल्लाकै राम्रो खाद्यबाली हुने जमिन मानिन्छ । खत्रीका पुर्खाहरूले तीन सय वर्षअघि पोखराबाट आएर सिममा जग्गा किनेका थिए ।

    images
    images

    “घरमा आवश्यक पर्ने २५ मुरी राखेर ९५ मुरी बिक्री गर्छु”, खत्रीले भने, “धान प्रतिपाथी रु चार सय र चामल प्रतिपाथी रु एक हजारका दरले बिक्री हुन्छ ।” बिक्री नहुने धानलाई चामल बनाउन घरमै विद्युत्बाट चल्ने मिल राखेका छन ।

    पकाउँदा घरबाहिरै छुट्टै किसिमको मगमग बास्ना आउने र खाँदा स्वादिलो हुने गौरीया जातको धान म्याग्दीको रैथाने बाली हो । सहरबजारका तारे होटलदेखि घरानिया व्यापारी, उच्च तहका नेता, कर्मचारीहरू गौरिया धानको चामलका उपभोक्ता हुन् ।

    “गौरीया धान पाक्दा खेत नै बसाउँछ । भान्छा कोठामा गौरियाको भात पकाउँदा आँगनसम्मै बास्ना आउँछ”, खत्रीले भने, “गौरीयाको भात खाइरहेकालाई अरु धानको भात रुच्दैन, गौरीया नै खोज्छन् ।” स्थानीयवासीहरूका अनुसार चार पुस्ताअघिदेखि खेती हुँदै आएको गौरीयाको वैज्ञानिक र अङ्ग्रेजी नाम अझै पहिचान भएको छैन ।

    म्याग्दी नदीको तटीय क्षेत्रमा पर्ने गैरीखेतमा खेती हुने भएकाले गौरीया नाम राखिएको सिमका किसान राजाराम उपाध्यायले बताए । गौरीया धानको चामल भात, पुलाउ, खिर र सेलरोटी बनाउने पीठोका लागि उपयुक्त हुुन्छ । न्यानो ठाउँमा हुने गौरीया धानको बोट अग्लो हुन्छ र सिँचाइका लागि धेरै पानी आवश्यक पर्छ । असारको १५ गते रोपिने गौरीया कात्तिक १५ आसपासमा पाकेर भित्र्याउने हुन्छ ।

    गौरीया धानको दाना अरु जातको भन्दा सानो हुन्छ । अन्य जातको तुलनामा गौरीयाको उत्पादकत्व कम हुुन्छ । पकाउँदा भात बढी देखिने गौरीया उपभोग गर्दा आडिलो पनि हुने उपभोक्ताको अनुभव छ । सुुत्केरी, किरिया बसेकाहरूलाई गौरीया धानको चामलको भात उपभोगी हुुने बताइन्छ ।

    पोखराको घर जग्गा छोराछोरीको जिम्मा लगाएका खत्रीले सिममा खाद्यबालीको साथै भैँसीपालन र बेनी–दरवाङ सडक छेउमा किराना पसलसहितको रेष्टुरेन्ट सञ्चालन गरेका छन । वार्षिक रु १० लाखभन्दा बढीको धान, चामल, दूध, खुसीबोका र कुखरा बिक्री हुने खत्रीले बताए । एकवटा स्थानीय लिमे–पारकोटे र दुईवटा उन्नत मुर्रा जातको भैँसीसँगै खत्रीले खसीबोका उत्पादन गर्न बाख्रा पनी पालेका छन । हाल दैनिक १० लिटर दूध बिक्री गर्ने उनले भैँसीको सङ्ख्या बढाउने सोचमा छन ।

    खत्रीकी श्रीमतीले उनलाई खेतीपाती र व्यवसायमा साथ दिएको छन । एक जनालाई नियमित, खेती लगाउने र भित्र्याउने समयमा दैनिक ४० जना जनालाई रोजगारी दिएका छन । वैदेशिक रोजगारको बढ्दो आकर्षणका कारण खेतबारीमा काम गर्ने जनशक्ति नपाउने, ज्यालाको मूल्य बढ्नु, तापक्रम वृद्धिका कारण खेतीपात्रो परिवर्तन हुनुलाई खत्रीले चुनौतीका रूपमा लिएका छन ।

    रोजगारीको सिलसिलामा तीन वर्ष सिङ्गापुर र पाँच वर्ष साइप्रसमा बिताएका खत्रीका परिवारको बसोबास २०७६ सालअघि पोखरामा थियो । कोरोना महामारी फैलिएपछि रोकथामका लागि गरिएको बन्दाबन्दीका समयमा उहाँका परिवार पोखराबाट जन्मथलो फर्केका थिए ।

    “हाम्रा हजुरबुबाका पाँच परिवार सन्तान हामीहरू विदेश र सहर पसेपछि यहाँको खेतीयोग्य जमिन कजाउन अरुलाई नै अधिया र बन्दकी दिएका थियौँ”, उनले भने, “कोरोनापछि गाउँ फर्किएर मेरो पुरख्यौलीका साथै दाजुभाइको एक सय रोपनी जग्गा भाडामा लिएर रैथाने जातको धानखेती गर्दै आएको छु ।”

    पुर्खाहरूले तीन सय वर्षअघि बनाएको घरमा ‘होमस्टे’ सञ्चालनको तयारी गरेका खत्रीले पाहुनालाई रैथाने गौरीया धानको भात, भैँसीको दूधदही, कुखुरा र खसीबोकाको मासुका परिकार चखाउने योजना बनाए । सिमलाई कृषि, पर्यटकीय गाउँका रूपमा विकास गर्ने सामाजिक गतिविधिमा पनि जोडिएका खत्रीको योजना छ । बेनीदेखि १२ दशमलव पाँच किलोमिटर पश्चिमतर्फ कालोपत्र सडकको पहुँच भएको सिम प्राकृति उपचारस्थल सिङ्गा तातोपानीदेखि चार दशमलव पाँच किलोमिटर नजिक छ ।

    रोजगारी, अवसर र सुविधाका लागि धेरै नेपालीहरू सहरमा बसाइँसराइ र विदेशिने क्रम बढिरहेका बेला विदेश र बजारबाट गाउँ फिरेका खत्रीले सकारात्मक सन्देश दिनुभएको म्याग्दी उद्योग वाणिज्य सङ्घका सचिव रहेका स्थानीयवासी मोतिलाल पौडेलले बताए। गण्डकी प्रदेश सरकारको लगानीमा घुरेनी कोत्रवाङ सिँचाइ योजना सञ्चालन भएपछि किसानहरूलाई खेतीबाली लगाउन सहज भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend