चितवन। कृषि क्षेत्रको आधुनिकीकरण तथा नवीन प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले आठौँ अन्तर्राष्ट्रिय कृषि उपकरण प्रदर्शनी (एग्रीटेक) आगामी माघ २ देखि ४ गतेसम्म चितवनको भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ।
मिडिया स्पेस सोलुसन प्रालि र फुचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा हुने प्रदर्शनीबारे जानकारी दिन भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रदर्शनी नवीन प्रविधिमा केन्द्रित रहने जानकारी दिइयो।
मिडिया स्पेस सोलुसन प्रालिका प्रबन्ध निर्देशक सृजल भट्टराईका अनुसार प्रदर्शनीमा २५ वटा विदेशी तथा ७० वटा स्वदेशी कम्पनीले उत्पादन गरेका कृषि प्रविधि, औजार तथा उपकरणहरू प्रदर्शनीमा राखिनेछन्। तीन दिन सम्म सञ्चालन हुने एग्रीटेकमा नेपाल सहित भारत, चीन लगायत विभिन्न देशका कृषि सम्बन्धी कम्पनीहरूको सहभागिता रहने उनले बताए।
प्रदर्शनीमा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाईभैँसीपालन, डेरी व्यवसाय, कृषि औजार तथा यन्त्र, पशु स्वास्थ्य तथा पशु चिकित्सा सेवा, खाद्य प्रविधि तथा फुड प्रोसेसिङ, मल, बीउविजन, कीटनाशक, कृषि तालिम तथा वित्तीय समाधान सम्बन्धी जानकारी उपलब्ध हुने भट्टराईले जानकारी दिए।
साना कृषि औजार देखि डेरी तथा पशुपन्छी उद्योगमा प्रयोग हुने ठूला मेसिनरी सम्मको प्रत्यक्ष प्रदर्शन, डेमो तथा परामर्श सेवा पनि प्रदर्शनीमा उपलब्ध गराइने आयोजकले जनाएको छ। प्रदर्शनीले कृषि क्षेत्रमा लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण तथा व्यावसायिक सहकार्यका लागि प्रभावकारी प्लेट फर्मको भूमिका खेल्ने विश्वास आयोजकको छ।
नेपालको कृषि क्षेत्रका लागि उपयुक्त, गुणस्तरीय र सस्तो उपकरण तथा थोरै लागतमा बढी उत्पादन दिन सक्ने नवीनतम प्रविधिहरू प्रदर्शनीमा प्रस्तुत गरिने भट्टराईले बताए। विदेशमा प्रयोग भई प्रमाणित भइसकेका उपकरणहरू पनि प्रदर्शनीमा ल्याइने उनले जानकारी दिए।
सो अवसरमा चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारीले संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा हाल सम्म ३९ वटा प्रदर्शनी सम्पन्न भइसकेको जानकारी दिँदै केही कार्यक्रम संघ स्वयंले तथा केही अन्य संघसंस्था सँगको सहकार्यमा आयोजना गरिएको बताए।




.gif)





