काठमाडौं । महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘महालक्ष्मी माघ महोत्सव’ डिजिटल प्रवर्द्धन महिना सञ्चालन गर्ने भएको छ ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्न, ग्राहक सुविधामा अभिवृद्धि गर्न तथा सुरक्षित र नगद रहित बैंकिङ प्रणालीलाई बढावा दिन बैंकले हरेक वर्ष माघ महिनालाई डिजिटल कारोबार प्रवर्द्धन महिनाका रूपमा मनाउँदै आएको छ । सोही निर्णयअनुसार यस वर्ष पनि ‘महालक्ष्मी माघ महोत्सव’ सञ्चालन गर्न लागिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार हाल दैनिक कुल कारोबार मध्ये डिजिटल कारोबारको हिस्सा औसतमा ८० प्रतिशतभन्दा बढी रहेको छ । यसलाई अझ विस्तार गर्न बैंकले डिजिटल सेवामा विभिन्न आकर्षक सुविधा थप गरेको छ ।
योजनाअन्तर्गत मोबाइल एप ‘महालक्ष्मी स्मार्ट साथी’मार्फत मुद्दती खाता खोल्दा ग्राहकले व्यक्तिगत मुद्दती खातामा प्रदान गरिने ब्याजदरभन्दा ०।२५ प्रतिशत बढी ब्याजदर प्राप्त गर्नेछन् । स्मार्ट साथी एपबाट खोलिने व्यक्तिगत मुद्दती खातामा नेपाल राष्ट्र बैंकको ब्याजदर सम्बन्धी नियमन भित्र रही ब्याज प्रदान गरिने बैंकले स्पष्ट पारेको छ ।
त्यसैगरी महोत्सवलाई थप आकर्षक बनाउन भर्चुअल तथा साधारण क्रेडिट कार्ड जारी गर्दा र वार्षिक शुल्कमा १०० प्रतिशत छुट दिइनेछ । डेबिट कार्ड जारी गर्दा तथा मोबाइल बैंकिङ दर्ता गर्दा पनि शतप्रतिशत शुल्क छुट प्रदान गरिने बैंकले जनाएको छ ।
ग्राहकहरूले मोबाइल एपमार्फत फार्मेसीको बिल भुक्तानी गर्दा बिल रकमको २० प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । अडियोमार्फत भुक्तानी प्राप्त भए–नभएको जानकारी दिने ‘कोइली’ सेवामा दर्ता गर्दा पनि कुनै शुल्क नलाग्ने बैंकले जानकारी दिएको छ ।
यो अभियान २०८२ साल माघ महिनाभर मात्र लागू हुने जनाइएको छ ।
हाल महालक्ष्मी विकास बैंकले देशभर रहेका १०३ शाखा कार्यालयमार्फत करिब ८ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।




.gif)





