images

२०८३ आश्विन १८ गते

images
images
images

तीन पुस्तादेखि टमाटरखेतीमा रमाउँदै वीरेन्द्रको परिवार

तीन पुस्तादेखि टमाटरखेतीमा रमाउँदै वीरेन्द्रको परिवार

images
images
मंगलवार, पौष २९ २०८२
मंगलवार, पौष २९ २०८२
  • बाँके– “मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । दुई महिनामै टमाटर बिक्री गरेर सबै ऋण तिरीसकेँ,” बाँकेको खजुरागाउँपालिका–२, सि गाउँका किसान वीरेन्द्रप्रसाद मुराउ भन्छन्, “तर मेरा छोराहरुले अझै ऋण तिर्दैछन् ।”वीरेन्द्रको यो भनाइले वैदेशिक रोजगारी र स्वदेशमै गरिएको व्यावसायिक कृषि बीचको आर्थिक अन्तर स्पष्ट देखाउँछ । तीन पुस्तादेखि निरन्तर टमाटरखेती गर्दै आएको मुराउ परिवारले आज आधुनिक प्रणाली अपनाएर खेतीलाई आम्दानीको बलियो आधार बनाएको छ ।वीरेन्द्रले यस वर्ष चार बिघा जग्गामा व्यावसायिक रुपमा टमाटरखेती गरेका छन् । उनका अनुसार यसका लागि प्रारम्भिक लगानी करिब सात लाख रुपैयाँ पुगेको छ । “बीउ, मल, प्लास्टिक, सिँचाइ, मजदुरी र विषादीमा लगानी हुन्छ,” उनले भने, “तर बजार राम्रो भयो भने दुई–तीन महिनामै लगानी उठ्छ ।”

    images
    images

    मङ्सिरको पहिलो सातादेखि टमाटर टिप्न सुरु गरेका वीरेन्द्रले हालसम्म करिब एक सय क्विन्टल टमाटर बिक्री गरेर साढे छ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिसकेका छन् । “अझै हजार क्विन्टलभन्दा बढी टमाटर टिप्न बाँकी छ,” उनले भने, “सबै बिक्री भयो भने यो वर्ष मात्रै ६० देखि ७० लाख रुपैयाँसम्मको कारोबार हुने अनुमान छ ।”यस वर्ष टमाटरको बजार मूल्य प्रतिकेजी ७० रुपैयाँसम्म पुगेकाले किसानलाई ठूलो राहत पुगेको छ । “भाउ राम्रो हुँदा किसानको मेहनतको मूल्य पाइएको महसुस हुन्छ,” वीरेन्द्रले भने । उत्पादन लागत घटाउन आधुनिक मल्चिङ प्रविधि प्रयोग गरिएको छ । वीरेन्द्रका अनुसार टमाटरखेती कुनै नयाँ पेसा होइन । “०३६ सालदेखि बुबाले टमाटरखेती गर्दै आउनुभएको थियो । बुबाले परम्परागत तरिकाले टमाटरखेती गरेर नै तीन पुस्ताको परिवार चलाउनुभयो,” उनले भने, “अब समय परम्परा खेती गर्ने समय रहेन । त्यसैले मेले यो खेती गर्न सुरु गरेदेखि नै आधुनिक प्रविधिबाट गर्दै आइरहेको छु ।”

    बुबाको उमेर ढल्किएपछि विगत तीन वर्षदेखि वीरेन्द्रले खेतीलाई पूर्ण रुपमा सम्हाल्दै आएका छन् । “मैले आधुनिक प्रणाली अपनाएँ,” उनले भने, “त्यसपछि उत्पादन पनि बढ्यो, लागत घट्यो र आम्दानी उल्लेख्य भयो ।”गत वर्ष पनि वीरेन्द्रले पाँच लाख १० हजार रुपैयाँ ऋण लिएर टमाटरखेती गरेका थिए । “भदौमा लिएको ऋण दुई महिनामै तिरेँ,” उनले भने । टमाटरखेतीबाट भएको नाफाले उहाँले टमाटर ढुवानी र बिक्रीका लागि अटोसमेत खरिद गर्नुभएको छ । “पहिले भाडाको साधन खोज्नुपथ्र्यो, अहिले आफ्नै साधन छ । मैले टमाटर ओसारपसार गरेर बिक्रीका लागि एउटा अटो किनेको छु,” उनको भनाइ छ ।टमाटरखेतीले केवल परिवारको आम्दानी बढाएको छैन, स्थानीय रोजगारी पनि सिर्जना गरेको छ । “यो खेतीमा १० देखि २० जनासम्म मजदुर चाहिन्छ,” वीरेन्द्रले भने, “दैनिक ज्यालामा काम पाउँदा गाउँकै मानिसलाई फाइदा पुगेको छ ।” सरकारबाट प्राप्त अनुदान र प्राविधिक सहयोगले खेतीलाई थप सहज बनाएको उहाँको भनाइ छ । 

    images
    images

    “प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सम्बन्धित निकायले मेरो खेतीको निरीक्षण गरेको थियो,” उनले भने । मल्चिङ सामग्री र खेत जोत्नका लागि रोटाभेटर उपलब्ध भए लागत अझै घट्ने उनको बुझाइ छ । वीरेन्द्रले सरकारको अनुदान सही सदुपयोग गर्न सके किसान आत्मनिर्भर बन्न सक्ने बताउँछन्। “अनुदान दुरुपयोग होइन, उत्पादन बढाउनेतर्फ प्रयोग गर्नुपर्छ,” उनको सुझाव छ ।आफ्ना छोराहरु विदेश गएको सन्दर्भमा उनी भावुक हुँदै भन्छन्, “नेपालमा केही गर्न सकिँदैन भनेर उनीहरु गए । तर किन सकिँदैन रु गरे आफ्नै नेपालमा, आफ्नै खेतबारीमा सुन फलाउन सकिन्छ ।”आगामी वर्ष वीरेन्द्रले टमाटरखेतीको क्षेत्रफल चार बिघाबाट बढाएर १० बिघा पु¥याउने लक्ष्य लिएका छन् । “दश बिघा खेती गर्दा दैनिक करिब २० जनालाई रोजगारी दिन सकिन्छ,” उनले भने। सुरुमा ऋण माग्दा नपत्याउनेहरुले हिजोआज आफूलाई ऋण दिन नहिच्किचाउने बताउनुभयो । विदेशी रोजगारसँग तुलना गर्दै उनी भन्छन्, “विदेशमा चार लाख कमाउन एक वर्ष लाग्छ, तर टमाटरखेतीबाट मैले १० दिनमै पाँचदेखि छ लाख रुपैयाँ कमाएको छु ।”उनका अनुसार सरकारले आधुनिक खेती कार्यक्रम ल्याएपछि भारतबाट आयात हुने तरकारी घट्दै गएको छ । “टमाटरखेतीबाटै हाम्रो १०–१५ जनाको संयुक्त परिवार चलेको छ,” वीरेन्द्रले भने ।

    तीन पुस्तादेखि निरन्तर टमाटरखेती गर्दै आएको मुराउ परिवारको कथा आज बाँकेको मात्र होइन, देशभरका किसान र युवाका लागि आर्थिक आत्मनिर्भरताको प्रेरणादायी उदाहरण बनेको छ । मेहनत, योजना र सही लगानी भए खेतबारीमै भविष्य सुरक्षित गर्न सकिने सन्देश वीरेन्द्रको सफलताले दिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend