images

२०८३ आश्विन १८ गते

images
images
images
  • कृषि
  • अलैंचीले राम्रो मूल्य पाएपछि भोजपुरका किसान...

अलैंचीले राम्रो मूल्य पाएपछि भोजपुरका किसान उत्साहित

अलैंचीले राम्रो मूल्य पाएपछि भोजपुरका किसान उत्साहित

images
images
सोमवार, पौष २८ २०८२
सोमवार, पौष २८ २०८२
  • भोजपुर । उत्पादित अलैंचीले लगातार राम्रो मूल्य पाउन थालेपछि भोजपुरका किसान उत्साहित भएका छन्। यस वर्ष अलैंची प्रतिमन (४० किलोग्राम) अधिकतम ९८ हजार रुपैयाँसम्ममा कारोबार भइरहेको टेम्केमैयुङ गाउँपालिका–५ चोलन्तीका कृषक चक्रबहादुर विष्टले जानकारी दिए।

    images
    images

    केही वर्षयता अलैंचीले निरन्तर राम्रो मूल्य पाउँदै आएको भन्दै उनले यसले किसानलाई खेती विस्तारतर्फ थप सक्रिय बनाएको बताए। यस वर्ष आफूले करिब साढे सात मन अलैंची उत्पादन गरेको विष्टको भनाइ छ।

    टेम्केमैयुङ–५ चोलन्ती अलैंची उत्पादनका लागि राम्रो क्षेत्रका रूपमा परिचित छ। यहाँका करिब ८०–९० घरधुरीले व्यावसायिक रूपमा अलैंची खेती गर्दै आएका छन्। विगत वर्षको तुलनामा यस क्षेत्रमा अलैंची उत्पादनमा वृद्धि भएको अलैंची व्यवसायी महासंघ भोजपुरका अध्यक्ष राजेश विष्टले बताए।

    images
    images

    उनका अनुसार समग्र जिल्लामा अलैंची उत्पादन केही घटे पनि चोलन्ती क्षेत्रमा भने उत्पादन बढेको देखिन्छ। “रोग–किराको समस्या केही देखिए पनि मूल्य राम्रो भएकै कारण किसानको उत्साह घटेको छैन,” अध्यक्ष विष्टले भने, “मूल्य बढेसँगै सबैजना खेती विस्तारतर्फ लागेका छन्।”

    कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार जिल्लामा हाल करिब ५९७ हेक्टर क्षेत्रफलमा अलैंची खेती भइरहेको छ। यहाँ मुख्यतया रामशाही, गोलशाही, डम्बरशाही र जिर्मले जातका अलैंची खेती गरिन्छ।

    जिल्लाको चोलन्ती, दोभाने, कुदाकाउले, साम्पाङ, अन्नपूर्ण, चम्पे, खावा, छिनामखु, किमालुङ, वासिङथर्पु, तिम्मा, हेलौछा, गुप्तेश्वर लगायत क्षेत्रहरू अलैंची उत्पादनका प्रमुख क्षेत्र मानिन्छन्। यी स्थानका किसानले उत्पादन, भण्डारण तथा बजार व्यवस्थापनमा अनुभव हासिल गरेकाले अलैंची जिल्लाको प्रमुख नगदेबालीका रूपमा स्थापित हुँदै गएको छ।

    अलैंचीबाट राम्रो आम्दानी हुन थालेपछि गाउँघरमा आर्थिक गतिविधि समेत बढेको छ। परिवारको दैनिक खर्च, स्वास्थ्य उपचार, छोराछोरीको पढाइ लगायतका आवश्यकता पूरा गर्न अलैंची मुख्य आधार बनेको स्थानीय किसानहरूको भनाइ छ।

    यद्यपि, मूल्य बढे पनि रोग–किराको समस्या, हावापानीको अनियमितता तथा बजार मूल्यमा हुने उतारचढाव जस्ता चुनौती भने कायमै रहेको किसानको गुनासो छ।

    कृषि ज्ञान केन्द्र भोजपुरले रोग नियन्त्रण, प्रविधिमैत्री खेती, गुणस्तर सुधार तथा किसानको क्षमतावृद्धिका लागि तालिम र सचेतना मूलक कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend