घोराही, पुस २३ गते । माघे सङ्क्रान्ति नजिकिँदै गर्दा बजारमा सखरखण्डको व्यापार बढ्दै गएको छ । माघे सङ्क्रान्तिमा सखरखण्ड खाने चलन रहेकाले राम्रो बिक्री हुने समेत गरेको गर्दछ ।माघी सङ्क्रान्ति पर्व नजिकदै गर्दा सखरखण्ड खेती गर्ने किसानलाई सखरखण्ड खन्नेदेखि बिक्रीका लागि भ्यानभ्याई रहेको छ । देउखुरीको राप्ती नदी उकास जमिनमा सखरखण्ड खेती गर्ने किसान अहिले रोपेको सखरखण्ड खन्ने र बिक्री गर्ने काममा व्यस्त रहेको राजपुर गाउँपालिका–३ खरदरियाका किसान रामछोर यादव बताउनुहुन्छ ।
समयमै खनेर बजारमा पु¥याउन सके राम्रो मुनाफा हुने भएकाले किसान सखरखण्ड खन्दै बिक्री गर्ने काम गरिरहेको बताउनुभयो । तीन बिगा जमिनमा सखरखण्ड खेती गर्नुभएका यादवले एक बिगा जमिनमा रोपेको करिव ३५ क्विन्टल सखरखण्ड बिक्री गरिसकेको बताउनुहुन्छ । बाँकी दुई बिगा जमिनमा रोपेको सखरखण्ड खन्ने काम भइरहेको भन्दै उहाँले भन्नुभयो, ‘‘खन्न सके सखरखण्ड लिनका लागि व्यापारी रोपेको ठाउँमा आउने गरेका छन्, बिक्रीका लागि समस्या छैन । व्यापारीलाई भनेको समयमा दिन सक्नुपर्छ ।’’करिव डेढ लाख रुपियाँको सखरखण्ड बिक्री गरिसक्नुभएका यादवले यो वर्ष १०० क्विन्टल बढी उत्पादन भए तीन लाख ५० हजारसम्मको बिक्री हुने बताउनुहुन्छ । उहाँका अनुसार सेतो सखरखण्ड प्रतिकिलो ४० देखि ४५ रुपियाँ र रातो सखरखण्ड ४५ देखि ४९ रुपियाँमा बिक्री भइरहेको छ । अन्य कृषिबालीको तुलनामा कम मेहनत र लगानीमै राम्रो आम्दानी लिन सकिने भएपछि धेरै किसानले पछिल्लो समय सखरखण्ड खेती गर्ने गरेको अर्का किसान धर्मप्रसाद यादव बताउनुहुन्छ ।
१६ कठ्ठा जमिनमा सखरखण्ड खेती गर्नभएका यादवले करिव ६० क्विन्टल सखरखण्ड उत्पादन भएको बताउनुहुन्छ । जसबाट करिव दुई लाखसम्म आम्दानी भएको बताउनुहुन्छ । उहाँका अनुसार देउखुरीका करिव ३०/३५ घर परिवारले सय बिगा बढी जमिनमा सखरखण्ड खेती गर्ने गरेका छन् । जसबाट कम मेहनत र लगानीमा छोटो समयमा राम्रो आम्दानी गर्ने गरेको बताउनुहुन्छ । देउखुरीमा उत्पादन भएको सखरखण्ड दाङका लमही, घोराही, तुलसीपुर बजारका साथै कोहलपुर र सुर्खेतसम्म पुग्ने गरेको किसान धर्मप्रसाद बताउनुहुन्छ । अन्य तरकारी जन्य उत्पादन बजारसम्म लैजानुपर्ने बाध्यता भए पनि सखरखण्ड बारीबाटै बिक्री हुने भएकाले किसानलाई खेती गर्न सहज हुने गरेको छ ।लमही नगरपालिका कृषि शाखाका अमरकुमार चौधरीका अनुसार देउखुरीको राप्ती नदीको बगर र आसपासका क्षेत्रमा सखरखण्डको व्यवसायिक खेती हुने गरेपनि ठोस तथ्याङ्क भने नरहेको बताउनुभयो । उहाँका अनुसार छोटो समयमा कम लगानी र मेहनतबाट राम्रो आम्दानी लिन सकिने भएकाले लमही नगरपालिका र राजपुर गाउँपालिकाका किसानले प्रत्येक वर्ष सखरखण्ड खेती गरेर आम्दानी लिने गरेको बताउनुहुन्छ ।




.gif)





