काठमाडौँ । कम्पनीले कात्तिक १२ गतेदेखि पुस २१ गतेसम्मको अवधिमा देशभरका १० वटा खरिद केन्द्र मार्फत ठूलो परिमाणमा धान खरिद गरेको छ। कम्पनीले यस वर्ष देशभरबाट कुल १ लाख ८० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ।
कम्पनीका खरिद विभाग प्रमुख अनन्तराज पौडेलका अनुसार तोकिएको कोटा पूरा भएपछि ५ वटा केन्द्रबाट हाललाई धान खरिद कार्य बन्द गरिएको छ। धनगढी, महेन्द्रनगर, नेपालगञ्ज, राजापुर र बिर्तामोड केन्द्रमा कोटा अनुसार तथा कतिपयमा कोटाभन्दा बढी धान खरिद भइसकेकाले अस्थायी रूपमा खरिद स्थगन गरिएको हो।
कम्पनीले सबैभन्दा बढी कोटा तोकेको धनगढी र राजापुर केन्द्रले लक्ष्यभन्दा बढी धान खरिद गरेका छन्। धनगढीमा सुरुवाती ३५ हजार क्विन्टलको कोटामा थप गरी करिब ३९ हजार क्विन्टल धान खरिद भएको छ भने राजापुरमा मोटो र मध्यम गरी करिब ३० हजार क्विन्टल धान खरिद भएको विभागले जनाएको छ।
कम्पनीले तोकेका १३ खरिद केन्द्रमध्ये लहान, जुम्ला र पोखरामा अझैसम्म धान खरिद प्रक्रिया सुरु हुन सकेको छैन। विभागीय प्रमुख पौडेलका अनुसार जेन–जी आन्दोलनका कारण लहानस्थित गोदाम र बोरामा क्षति पुगेको तथा बोराको अभाव भएकाले खरिद प्रक्रिया रोकिएको हो। लहान केन्द्रले कोटा बढाउनुपर्ने माग गरे पनि विभागसँग हाल बोराको मौज्दात कम भएकाले समस्या देखिएको उनले बताए।
यस्तै, जुम्लामा मार्सी धान र पोखरामा जेठोबुढो ९उन्नत जात० धान खरिद गर्ने योजना रहे पनि पर्याप्त परिमाणमा धान उपलब्ध नभएकाले प्रक्रिया अघि बढ्न नसकेको कम्पनीको भनाइ छ।
हाल बाँकी रहेका केन्द्रहरूमध्ये विराटनगर, भैरहवा, जनकपुर, वीरगन्ज र तुलसीपुर लगायतका स्थानबाट धान खरिद जारी छ। तथ्यांकअनुसार हालसम्म विराटनगरमा १ हजार ११६ क्विन्टल, भैरहवामा २ हजार ४९ क्विन्टल, जनकपुरमा ५ हजार ७४० क्विन्टल र वीरगन्जमा ४ हजार ९१२ क्विन्टल धान खरिद भइसकेको छ।
सरकारले यस वर्ष मध्यम धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६२८ रुपैयाँ र मोटो धानको मूल्य ३ हजार ४६३ रुपैयाँ तोकेको छ।




.gif)





