images

२०८३ आश्विन १६ गते

images
images
images

आदिवासी जनजाति महोत्सवः तीन जातिका नमुना घर निर्माण

आदिवासी जनजाति महोत्सवः तीन जातिका नमुना घर निर्माण

images
images
मंगलवार, पौष २२ २०८२
मंगलवार, पौष २२ २०८२
  • दमौली (तनहुँ), २२ पुस । नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा पुस २४ गतेदेखि सञ्चालन हुने छैँटौँ तनहुँ सांस्कृतिक महोत्सव अन्तर्गत तीन जातिका नमुना घर निर्माण गरिएको छ । महोत्सवलाई थप आकर्षक, मौलिक र सांस्कृतिक बनाउन तीन जातिका परम्परागत नमुना घर निर्माण गरिएको हो ।

    images
    images

    व्यास नगरपालिका–३ स्थित खुल्ला मैदानमा आयोजना हुने महोत्सवको मुख्य आकर्षणका रूपमा महेन्द्र शालिक रहेको पार्कमा मगर, दरै र कुमाल समुदायका नमुना घर निर्माण गरिएको महोत्सव संयोजक एवं महासङ्घका अध्यक्ष सनम तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार यी नमुना घरमार्फत जनजातिहरूको जीवनशैली, रहनसहन, संस्कृति, परम्परा र ऐतिहासिक पहिचानलाई उजागर गर्ने उद्देश्य राखिएको छ । 

    जिल्लामा १३ भन्दा बढी आदिवासी जनजाति समुदायको बसोबास रहेपनि स्थानको अभावका कारण तीन समुदायका मात्रै नमुना घर निर्माण गरिएको उहाँले बताउनुभयो ।

    images
    images

    अध्यक्ष तामाङका अनुसार महोत्सव अवलोकन गर्न आउने सर्वसाधारण, विद्यार्थी तथा पर्यटकले नमुना घरभित्र प्रयोग हुने घरायसी सामग्री, भाँडाकुँडा, कृषि औजार, पहिरन, संस्कार तथा संस्कृति र रीतिरिवाजका बारेमा नजिकबाट बुझ्ने अवसर पाउनेछन् । यसले नयाँपुस्तामा आफ्नै संस्कृतिप्रतिको चेतना अभिवृद्धि हुनुका साथै लोपोन्मुख परम्पराको संरक्षणमा टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    छैँटौँ तनहुँ सांस्कृतिक महोत्सवमा नमुना घरसँगै सांस्कृतिक झाँकी, मौलिक नृत्य, जातीय पहिरन प्रदर्शनी, स्थानीय परिकार, हस्तकला सामग्रीका कक्ष (स्टल), साङ्गीतिक कार्यक्रम तथा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । 

    आदिवासी जनजातिको पहिचान, मौलिकता र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवले तनहुँको सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको तामाङको भनाइ छ । उहाँले भन्नुभयो, “आधुनिकताको प्रभावले लोप हुँदै गएका हाम्रा मौलिक संस्कृति र परम्परालाई नयाँपुस्तासम्म पु¥याउन महोत्सव महत्वपूर्ण हुने विश्वास छ ।” 

    महोत्सवका लागि आवश्यक तयारी सुरु भइसकेको जनाउँदै उहाँले स्टल निर्माण, सांस्कृतिक मञ्च व्यवस्थापन, समुदायगत प्रदर्शनीस्थल तयार गर्ने काम तीव्र रूपमा अगाडि बढाइएको जानकारी दिनुभयो ।

    आयोजकका अनुसार महोत्सवले आदिवासी जनजाति समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक आदानप्रदानलाई थप मजबुत बनाउने विश्वास लिइएको छ । आगामी माघ ५ गतेसम्म सञ्चालन हुने महोत्सवमा रु १५ लाख बचत गरी सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य राखिएको महोत्सवका संयोजक तामाङले जानकारी दिनुभयो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend