मुगु । जाजरकोटको नलगाड नगरपालिका–५ रानीखेतमा गाँडे खोलाबाट ल्याइएको सिँचाइ कुलोले वर्षौंदेखि यहाँका खेतबारी सिँचाइ गर्दै आएको थियो। यही पानीले घट्ट घुम्थे र झुम्रेखोला लघुजलविद्युत् आयोजना मार्फत घरघरमा उज्यालो फैलिन्थ्यो। तर २०७९ साल कात्तिक १७ गते राति आएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्पले ती सबै संरचना तहसनहस बनायो।
भूकम्पपछि कुलो भत्किँदा करिब २० हेक्टर खेतीयोग्य जमिन बाँझो बन्यो। पानी नपुग्दा ३१ किलोवाट क्षमताको झुम्रेखोला लघुजलविद्युत् आयोजना र दुईवटा पानी घट्ट ठप्प भए। “खेत सुक्दा घरको चुलो पनि निभेजस्तै भयो,” स्थानीय बासिन्दा सुनीलकुमार विक सम्झन्छन्, “जग्गा बाँझो हुँदा परिवार पाल्नै गाह्रो भयो।”
रानीखेतसँगै कालीमाटी, रगुनाथ, खनटाकुरा, चारगाउँ, ऐरारी र लविसाका गरी १ सय ७१ घरधुरीको जीवनयापन यही कुलोसँग जोडिएको थियो। ब्राह्मण, क्षेत्री, जनजाति र दलित समुदाय बसोबास गर्ने यी बस्तीमा करिब १ हजार ५० जनसंख्या रहेको छ। कुलो अवरुद्ध भएपछि धान, गहुँ, मकै, तोरी तथा तरकारी खेती पूर्ण रूपमा प्रभावित भएको स्थानीयहरूको भनाइ छ।
यही निराशाबीच जापान सरकारको आर्थिक सहयोगमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को नेतृत्व तथा संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (यूएन–ह्याबिट्याट) को सहकार्यमा छायाँ नेपालद्वारा कार्यान्वयन गरिएको जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रहरूमा जीविकोपार्जन सुधार तथा विपद् उत्थानशीलता सुदृढीकरण परियोजना आशाको किरण बनेर आयो।
परियोजनाअन्तर्गत छायाँ नेपालबाट ४ लाख ४७ हजार रुपैयाँ, नलगाड नगरपालिकाबाट १ लाख १८ हजार रुपैयाँ र समुदायबाट ३६ हजार रुपैयाँ बराबरको जनश्रमदान जुटाइयो। कुल ६ लाख २ हजार ५३ रुपैयाँको लागतमा गाँडे खोलादेखि रानीखेतसम्मको सिँचाइ कुलो मर्मत तथा सुधार गरिएको इन्जिनियर सुरज परियारले जानकारी दिए।
हाल कुलोबाट पुनः पानी बग्न थालेको छ। बाँझिएका खेतहरू हरियालीमा परिणत भएका छन्। करिब २० हेक्टर जमिनमा धान, गहुँ, मकै, तोरीसँगै बन्दा, काउली, गाजर, मुला, धनियाँ र हरियो सागसब्जी उत्पादन हुन थालेको छ। तरकारी बिक्रीबाट स्थानीयको आम्दानीसमेत बढेको छ। “घरघरमा फेरि चुलो बल्न थालेको छ,” स्थानीय दिलसरा सुनार भन्छिन्।
सबैभन्दा ठूलो उपलब्धि भने ऊर्जा क्षेत्रमै देखिएको छ। ३१ किलोवाट क्षमताको झुम्रेखोला लघुजलविद्युत् आयोजना पुनः सञ्चालनमा आएको छ भने पानी घट्टहरू पनि फेरि घुम्न थालेका छन्। “अँध्यारो रात फेरि उज्यालोमा बदलिएको छ,” गाँडे खोलादेखि रानीखेत सिँचाइ कुलो मर्मत–सुधार समितिकी सदस्य सृष्टि विक भन्छिन्, “यो कुलो मर्मतले पानी मात्र होइन, हाम्रो भविष्य फर्काइदिएको छ।”
रानीखेतमा अहिले कुलो केवल सिँचाइको साधन मात्र होइन, यो आशा, आत्मनिर्भरता र विपद् उत्थानशीलताको प्रतीक बनेको छ। भूकम्पले भत्काएको जीवन फेरि उभिन थालेको स्थानीयहरूको भनाइ छ।




.gif)





