images

२०८३ आश्विन १८ गते

images
images
images
  • कृषि
  • स्याङ्जामा यस वर्ष एक अर्ब ३२...

स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

images
images
शुक्रवार, पौष १८ २०८२
शुक्रवार, पौष १८ २०८२
  • वालिङ (स्याङ्जा), १८ पुस । स्याङ्जाबाट यस वर्ष रु एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष कुल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । यहाँ उत्पादन भएको सुन्लता थोकमा प्रतिकेजी रु ५७ का दरले बिक्री भएको छ ।

    images
    images

    गत वर्षको तुलनामा यस वर्ष रु २० करोड बढी मूल्यको सुन्तला उत्पादन भएको हो । गत वर्ष २० हजार ८४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष गत वर्षको तुलनामा उत्पादकत्वसमेत बढेको छ । यस वर्ष १६.३७ टन प्रतिहेक्टर उत्पादन भएको छभने गत वर्ष १४.६६ टन प्रतिहेक्टर उत्पादन भएको थियो ।

    स्याङ्जा जिल्लामा उत्पादन भएको कुल परिमाणको सुन्तलामध्ये ९० प्रतिशत बिक्री हुने गरेको छभने बाँकी रहेको १० प्रतिशत सुन्तला कोसेली, उपहार तथा घरघरमै खपत हुने गरेको उहाँले बताउनुभयो । यस वर्ष उत्पादन भएकामध्ये २० हजार ८८२ मेट्रिक टन बिक्री योग्य परिमाणको सुन्तला हो ।

    images
    images

    स्याङ्जामा गत वर्षको तुलनामा यस वर्ष सुन्तला बगैँचाले ढाकेको क्षेत्रफलमा वृद्धि भएको छ । गत वर्ष दुई हजार २५० हेक्टर क्षेत्रफलमा रहेको सुन्तला बगैँचा यस वर्ष एक सय ५० हेक्टर क्षेत्रफल वृद्धि भई दुई हजार ४०० हेक्टर पुगेको उहाँले जानकारी दिनुभयो ।

    गत वर्ष एक हजार ३७० हेक्टर उत्पादनशील क्षेत्रफल रहेको थियो । यस वर्ष उत्पादनशील क्षेत्रफल एक हजार ४२० हेक्टर रहेको छ । हुर्कँदो बगैँचाको क्षेत्रफल समेत गत वर्षको तुलनामा यस वर्ष एक सय हेक्टर वृद्धि भएको छ । गत वर्ष ८८० हेक्टर रहेकामा यस वर्ष ९८० हेक्टरमा हुर्कँदो सुन्तलाको बगैँचा रहेको छ ।

    विसं २०७३।७४ मा स्याङ्जालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन एकाइ घोषणा गरिएको थियो । आव २०७५।७६ को सुरुआतसँगै स्याङ्जालाई सुपरजोन घोषणा गरिएको थियो । सुन्तलाका क्षेत्रमा सुपरजोन घोषणा भई कार्यान्वयनमा आएसँगै जिल्लामा सुन्तला उत्पादनतर्फ किसान थप आकर्षित भएर लागेका छन् ।

    स्याङ्जामा सुन्तला व्यवसायलाई मुख्य आम्दानीको स्रोतका रूपमा विकास गर्ने पद्धतिको विकास हुँदै गएको छ । जिल्लाका विभिन्न भागमा निर्वाहमुखी र घरायसी प्रयोजनका लागि गरिँदै आएको सुन्तलाखेतीलाई विस्तार गरी व्यवसायीकरण गर्न थालिएको छ । सुन्तलाखेतीलाई प्रमुख आम्दानीको स्रोतका रूपमा विकास गर्नेतर्फ सुन्तला किसानको लहर बढ्दै गएको छ ।

    पाखो, भिरालो जमिन तथा बारीमा अन्य रुख बुट्यानलाई फडानी गरी सुन्तला बगैँचा निर्माण गर्ने र अन्य खाद्यान्न उत्पादन हुने जमिनलाई सदुपयोग गरी सुन्तलाका बोट लगाउनेतर्फ अहिले किसान आकर्षित हुँदै गएका छन् ।

    जिल्लाको पुतलीबजार, वालिङ, भिरकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदीखोला, विरुवा, अर्जुनचौपारी गाउँपालिका सुन्तला उत्पादनको मुख्य पकेट क्षेत्र हुन् । यहाँका सुन्तला काठमाडौँ, बुटवल, पोखरा, नारायणगढ लगायत ठूला सहरमा पुग्ने गरेका छन् । स्याङ्जामा उत्पादन भएको सुन्तला खरिद गर्न सिधै व्यापारी बगैँचामा पुग्ने गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend