images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • ५० करोडको लगानीमा धनुषामा सञ्चालनमा आयो...

५० करोडको लगानीमा धनुषामा सञ्चालनमा आयो लुब्रिकेन्ट प्लान्ट, भिडोलका प्रडक्ट बन्ने

५० करोडको लगानीमा धनुषामा सञ्चालनमा आयो लुब्रिकेन्ट प्लान्ट, भिडोलका प्रडक्ट बन्ने

images
images
बुधवार, आश्विन २ २०८१
बुधवार, आश्विन २ २०८१
  • काठमाडौं । यूनाइडेट लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्रालिले नेपालमा भिडोल ब्रान्डको इन्जिन आयलको उत्पादन सुरु गरेको छ । धनुषा जिल्लाको मिथिला नगरपालिका -३ मा प्लान्ट जडान गरी कम्पनीले उक्त आयलको उत्पादन सुरु गरेको हो ।

    images
    images

    कम्पनीको सो उद्योग हिजो अर्थात् मंगलबार मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र भिडोल इन्टरनेशनल लिमिटेड, युकेका निर्देशक अरिजित वासुले संयुक्त रूपमा उद्घाटन गरेका थिए । अमेरिकी फ्रेन्चाइजसँगकाे साझेदारीमा भिडोलका प्रडक्ट उत्पादन गरिएको कम्पनीले जानकारी दिएको छ ।

    कुल १ लाख ७५ हजार ८७६ स्क्वायर फिटमा फैलिएको यो उद्योगबाट गुणस्तरीय लुब्रिकेन्ट उत्पादन गर्ने लक्ष्यसहित सञ्चालनमा ल्याइएको बताइएको छ । यूनाइडेट लुब्रिकेन्ट्स इन्डस्ट्रिजका प्रबन्ध निर्देशक दिपेन्द्र कुमार मिश्रले यो उत्पादनसँगै नेपालमा इन्जिन आयलको आपूर्तिमा सहज हुने बताए ।

    images
    images

    ‘नेपालमा इन्जिनका सवारी प्रयोगकर्ता धेरै छन्, जसमा विभिन्न प्रकारका तेलहरू भारत लगायतका मुलुकबाट आयात भएर आउँछ, अब नेपालमै लुब्रिकेन्ट बन्दा सहुलियत हुनेछ,’ उनले भने ।

    कम्पनीले उक्त उद्योगको सन् २०२१ निर्माण सुरु गरेर २०२३ मा सम्पन्न गरी व्यवसायिक लुब्रिकेन्टको उत्पादन सुरु गरेको थियो । यद्यपी कम्पनीले सन् २०२४ मा आएर फ्याक्ट्रीको औपचारिक उद्घाटन गरेको हो । यूनाइडेट लुब्रिकेन्ट्सले नेपालमा भिडोलको ल्यूब आयल र ग्रिजको उत्पादन गर्नेछ । नेपालमा उत्पादन हुने नयाँ लुब्रिकेन्ट र ग्रिजको गुणस्तरमा कमी नहुने मिश्रले बताए । उनका अनुसार करिव ५० करोडको लगानीमा उक्त लुब्रिकेन्ट उद्योग सञ्चालनमा आएको हो ।

    मिश्रका अनुसार वार्षिक ६ हजार टन लुब्रिकेन्ट उत्पादन गर्न सक्ने क्षमता प्लान्टको रहेको छ । विभिन्न ७५ वटा देशमा बिक्री हुँदै आएका भिडोलका प्रडक्ट विश्व प्रसिद्ध लुब्रिकेन्ट ब्रान्डको रूपमा परिचित छ ।

     उद्योगमा ३ वटा ग्रीस केटल रहेका छन् । जसमध्ये एउटा केटलको ४ किलोलिटर (केएल) क्षमता रहेको छ भने बाँकी दुईको ३ केएलको क्षमता रहेको कम्पनीले बताएको छ । उक्त उद्योगमा १८ वटा उत्पादन होल्डिंग गर्ने ट्यांक छन् । प्रति ट्यांकमा १८ केएल उत्पादन अट्ने बताइएको छ ।

    यसैगरी कम्पनीका जनरल म्यानेजर दिनेश खनालले भिडाेलले अन्तर्राष्ट्रिय बजारमा जस्तो आयल उत्पादन गरी बिक्री गरेकाे छ, त्यस्तै यहाँ उत्पादन हुने बताए । उनका अनुसार नेपालमा लुब्रिकेन्ट उत्पादन हुँदा मूल्यमासमेत केही कमी आउनेछ ।

    फ्रेन्चाइज उक्त उद्योगको प्रति महिना १० लाख लिटर लुब्रिकेन्ट आयल उत्पादन क्षमता रहेको छ । ‘यस उद्योगको उत्पादन क्षमता निकै छ, क्षमता अनुसार उत्पादन गरी बजारमा सकियोस् भन्ने हाम्रो चाहना हो, सरकारले लुब्रिकेन्ट उत्पादनमा सहज वातावरणको सिर्जना गर्दै गयो भने यस्ता अन्य कार्य अगाडि बढाउन सकिन्छ, उनले भने ।

    कम्पनीका अनुसार प्लान्टमार्फत हाल दैनिक ३३ हजार लिटर लुब्रिकेन्ट उत्पादन भइरहेको छ । प्लान्टबाट दैनिक सिफ्ट अनुसार १५ हजार लिटर लुब्रिकेन्ट र १० हजार केजी ग्रिज उत्पादन गर्दै आएको छ ।

    यसैगरी प्लान्ट उद्घाटनका क्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेशको आर्थिक विकासको महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘मधेश औद्योगिक हब बन्दै छ । देशको आर्थिक विकासको लागि उद्योग अपरिहार्य छ, जसको एउटा थालनी यो लुब्रिकेन्ट प्लान्ट पनि हो,’ उनले भने ।

    कम्पनीले आवश्यक बेसआयल, सिन्थेटिक लगायतका कच्चापदार्थ भारतबाट आयात गरी यहाँ तयारी लुब्रिकेन्ट बनाएर बजारमा पठाइने प्रबन्ध निर्देशक मिश्रले बताए । उनका अनुसार हाल उक्त उद्योगमा ५० जनाले रोजगारी पाएका छन् । ‘यो उद्योगबाट हाल ५० जनाले रोजगारी पाएका छन्, पूर्ण क्षमतामा प्लान्ट सञ्चालनमा आउँदा धेरै स्थानीय साथै अन्यले रोजगारी पाउने छन्,’ उनले भने ।

    यस्तै, भिडोल इन्टरनेशनल लिमिटेड, युकेका निर्देशक अरिजित वासुले नेपालमा लुब्रिकेन्ट बजार उपयुक्त रहेका बताए । ‘नेपालमा यो प्रडक्ट छिट्टै सवारी प्रयोगकर्ताको रोजाइमा पर्छ भन्ने हाम्रो अपेक्षा छ, यो स्तरको प्लान्ट बनाएर लुब्रिकेन्ट उत्पादन गर्नु आफै नेपालको लागि गौरवको विषय हो,’ उनले भने ।

    भिडोलका अन्य प्रडक्ट पनि नेपालमा बनाउन सकिने सम्भावना रहेकाे उनले बताए । यूनाइडेट लुब्रिकेन्ट्सले नेपाल गोल्ड लुब्रिकेन्ट र ग्रिज उत्पादन गरी बिक्री गर्दै आएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend