काठमाडौँ, २४ मंसिर । सहकारी विभागले एक व्यक्तिले एकै समयमा एकभन्दा धेरै सहकारी संस्थामा संचालक पदमा बस्न नपाउने कानुनी प्रावधान कडाईका साथ कार्यान्वयन गर्न निर्देशन जारी गरेको छ।
विभागले सोमबार देशभरका सहकारी संस्थालाई परिपत्र गर्दै सहकारी ऐन २०७४ को दफा ४१ अनुसार “एक व्यक्तिले एकै सहकारीमा मात्र संचालक बन्न सक्ने” व्यवस्था तत्काल लागू गर्न आग्रह गरेको हो।
यसअघि पनि पटक–पटक चेतावनी र निर्देशन दिइए पनि केही व्यक्तिहरू दोहोरो संचालकका रूपमा कार्यरत रहेको गुनासो बढेपछि विभागले कडा र स्पष्ट निर्देशन जारी गरेको बताइएको छ।
विभागद्वारा जारी निर्देशनमा भनिएको छ, “केही व्यक्तिहरू दोहोरो संचालकका रूपमा कार्यरत रहेको भन्ने गुनासो प्राप्त भइरहेकाले तथा निर्देशनका बाबजुद पनि यथास्थितिमा सुधार नआएकाले उक्त कानुनी व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गर्न सबै सहकारी संस्था र संचालक सदस्यहरूलाई पुनः निर्देशित गरिएको छ।”
त्यसैगरी, सहकारी नियमनमा संलग्न सबै नियमनकारी निकायलाई नियमित अनुगमन, निरीक्षण, नियमन तथा सुपरिवेक्षणमार्फत यो व्यवस्था लागू भएको–नभएको जाँच गर्न विभागले आग्रह गरेको छ।




.gif)





