काठमाडौं । विश्वव्यापी वित्तीय स्थिरता र घरेलु वित्तीय प्रणालीको लचिलोपन सुनिश्चित गर्न नेपाल राष्ट्र बैंकले घरेलु रूपमा प्रणालीगत रूपमा महत्वपूर्ण बैंकहरूसँग व्यवहार गर्ने मापदण्ड (डिलिङ विथ डोमेस्टिक सिस्टमेटिकल्ली इम्पोर्टनेन्ट बैंक–डी एसआईबी) जारी गरेको छ। केन्द्रीय बैंकले सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूका लागि उक्त मापदण्ड जारी गरेको हो।नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी उक्त मापदण्ड तयार पारेको हो। उक्त मापदण्डलाई व्यवस्थापन समिति बैठकले स्वीकृत गरेको थियो। यो मापदण्डले नेपालको वित्तीय क्षेत्रमा महत्वपूर्ण प्रभाव पार्ने ठूला बैंकहरूमाथि कडा पुँजी आवश्यकता र सुपरिवेक्षण लागू गर्नेछ। जसले प्रणालीगत जोखिम न्यूनीकरण गर्दै वित्तीय स्थायित्वलाई बलियो बनाउने बताइएको छ।
यो फ्रेमवर्कले घरेलु वित्तीय प्रणालीका लागि सुरक्षाको एक अतिरिक्त तहको रूपमा काम गर्ने अपेक्षा गरिएको छ। यो फ्रेमवर्क हरेक तीन वर्षमा कम्तीमा एकपटक पुनरावलोकन गरिने केन्द्रीय बैंकले जनाएको छ।
घरेलु रूपमा बैंकसम्बन्धी मापदण्ड
सन् २००८ को वित्तीय संकटमा धेरै प्रणालीगत रूपमा महत्वपूर्ण बैंकहरूको पतनले विश्वव्यापी अर्थतन्त्रमा पारेको विनाशकारी प्रभावपछि जी–२० का नेताहरूले ‘कुनै पनि वित्तीय संस्था असफल हुने गरी ठूलो हुनुहुँदैन’ भन्ने निष्कर्ष निकालेका थिए। यिनै विश्वव्यापी मापदण्डलाई पूरक बनाउन बेसल कमिटी अन बैंकिङ सुपरभिजनले घरेलु रूपमा महत्वपूर्ण बैंकहरूसम्बन्धी मापदण्डसमेत सन् २०१२ अक्टोबरमा प्रकाशित गरेको थियो। राष्ट्र बैंकको यो ढाँचा नेपालको मौद्रिक नीति २०७२/७३ र २०७६/७७ मा परिकल्पना गरिएका व्यवस्थाहरू र चौथो रणनीतिक योजना (२०७९–२०८३) को ‘रणनीतिक स्तम्भ २, नियमन र सुपरिवेक्षण’अन्तर्गतको कार्यसँग मिल्दोजुल्दो छ।
उक्त मापदण्डको उद्देश्य वित्तीय प्रणाली र समग्र अर्थतन्त्रमा ठूलो बाधा पुर्याउन सक्ने बैंकको पहिचान गर्नु रहेको केन्द्रीय बेंकले उल्लेख गरेको छ। ‘साथै, उच्च क्षति अवशोषण आवश्यकता लागू गरेर लचिलोपन बढाउनु हो। प्रणालीगत जोखिम कम गर्न यसमाथि उपयुक्त सुपरिवेक्षण र नियमन सुनिश्चित गर्नु मापदण्डको उद्देश्य हो,’ मापदण्डमा बताइएको छ।केन्द्रीय बैंकका अनुसार स्थानीय नियमनकारी आवश्यकताहरूसँग समायोजन गर्दै एक विधि विकास गरेको छ। ‘यो मूल्यांकन विधिले बैंकको असफलताबाट पर्न सक्ने बाह्य प्रभावलाई झल्काउँछ र मूल्यांकनको सन्दर्भ प्रणाली घरेलु अर्थतन्त्र हुनेछ।
प्रणालीगत स्कोर गणनामा ४ सूचक
प्रणालीगत स्कोर गणना गर्नका लागि चार मुख्य सूचकहरूलाई भार दिइएको छ। जसअन्तर्गत बैंकको आकारको भार ४० प्रतिशत रहेको छ र यसलाई कुल जोखिमको मापनमा प्रयोग गरिन्छ। ठूला बैंकहरूको असफलताले वित्तीय प्रणालीमा विश्वास कमजोर पार्ने सम्भावना उच्च हुन्छ,’ मापदण्डमा भनिएको छ, ‘बैंकको परस्पर अन्तरसम्बन्धको भार ३० प्रतिशत छ र यसले अन्तर–वित्तीय प्रणाली सम्पत्ति, अन्तर–वित्तीय प्रणाली दायित्वहरू र धितोपत्र बाँकीलाई समेट्छ।
यस्तै, बैंकको प्रतिस्थापन क्षमताको भार १५ प्रतिशत राखिएको छ। यसमा नेपाली रुपैयाँमा गरिएका भुक्तानीको मूल्य र मात्रा (७५ प्रतिशत भार मूल्यलाई र २५ प्रतिशत भार मात्रालाई) साथै व्यापारिक मात्रा समावेश छन्। यसपछि जटिलताको भार १५ प्रतिशत रहेको छ। यसले बैंकको व्यापार, संरचना र परिचालन गतिविधिमा रहेको जटिलतालाई मापन गर्ने जनाइएको छ।केन्द्रीय बैंककाअनुसार ’क’ वर्गका बैंकहरू जसको प्रणालीगत स्कोर थ्रेसहोल्डभन्दा माथि हुन्छ। ‘नियामक/सुपरिवेक्षकीय निर्णयको आधारमा पनि बैंकहरूलाई उक्त मापदण्डको रूपमा तोक्न सकिन्छ। उक्त मापदण्डको रूपमा तोकिएका बैंकहरूले उच्च क्षति अवशोषण आवश्यकता पूरा गर्न पुँजी बफर कायम राख्नुपर्ने छ।
वार्षिक मूल्यांकन समय तालिका
यो मापदण्ड पहिचानका लागि वार्षिक मूल्यांकन समयतालिका तोकिएको छ। जसअन्तर्गत अगस्टको अन्त्यसम्म प्रणालीगत स्कोर गणनाका लागि आवश्यक डाटाको मूल्यांकन गरिनेछ। सेप्टेम्बरको अन्त्यसम्म प्रणालीगत स्कोर गणना र पहिचान गरिने, अक्टोबरको अन्त्यसम्म यसको सूची तयार गरी सार्वजनिक गरिनुपर्ने छ।




.gif)





