काठमाडौँ । कात्तिक २२, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र नेपालस्थित जर्मन राजदूत उडो युगेन भोल्जबीच शुक्रबार भेटवार्ता भएको छ। भेटवार्तामा जर्मन विकास बैंक (केएफडब्लू)को करिब एक अर्ब रुपैयाँ बराबरको आर्थिक तथा प्राविधिक सहयोगमा चन्द्रागिरि–४, थानकोटमा बन्ने प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पतालका विषयमा विस्तृत छलफल भएको थियो।
सो अवसरमा नगरप्रमुख गिरीले उक्त अस्पताल निर्माणका लागि आफूले निरन्तर पहल, सहजीकरण र समन्वय गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।
थानकोटमा बन्ने यो अस्पताल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीको ‘स्याटेलाइट’ अस्पतालका रूपमा विकास गर्न लागिएको हो। अस्पतालमा २५ शैय्या रहनेछ। केएफडब्लूले यसका लागि प्रारम्भिक खाका स्वीकृत गरी ‘ग्लोबल टेन्डर’ प्रक्रियाको चरणमा पुगेको जनाइएको छ।
अस्पताल निर्माणका लागि केएफडब्लूले करिब एक अर्ब रुपैयाँ बराबरको आर्थिक र प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ। यसअघि मन्त्रिपरिषद्ले प्राथमिक अस्पताल थानकोट परिसरमा विशेषज्ञ अस्पताल भवन निर्माणका लागि २३ रोपनी जग्गा नगरपालिकालाई स्वीकृत गरिसकेको छ।
नगरपालिकाको सहजीकरणमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केएफडब्लूले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारेका थिए। गत जेठको पहिलो साता अस्पतालको विस्तृत खाका सहित ‘ग्लोबल टेन्डर’ प्रक्रिया अगाडि बढाउन आवश्यक प्रतिवेदन तयार गर्न केएफडब्लूको केन्द्रीय कार्यालयबाट मिसेल स्वीपर र प्राडा योर्कसहित उच्चस्तरीय टोली नेपाल आएको थियो।




.gif)





