काठमाडौँ । काठमाडौँको चाबहिलस्थित ओम अस्पतालको क्यान्टिन सात दिनका लागि बन्द गरिएको छ। काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमन टोलीले सरसफाइमा चरम लापरबाही पाइएको भन्दै क्यान्टिन तत्काल बन्द गर्ने निर्णय गरेको हो।
हेल्दी बाइट्स सर्भिसेज प्रालिद्वारा सञ्चालित उक्त क्यान्टिनमा खाद्य रंगको अव्यवस्थित प्रयोग, म्याद गुज्रिएका वस्तुको प्रयोग, अस्वच्छ वातावरण, पेष्ट कन्ट्रोलको कमजोर अवस्था र लेबलविहीन खाद्यवस्तुको प्रयोग जस्ता अनियमितता भेटिएका थिए। साथै, क्यान्टिन सञ्चालकले व्यवसाय दर्ता नगरेको पाइएको अनुगमन टोलीले जनाएको छ।
अनुगमनका क्रममा म्याद गुज्रिएका पाँच थान (५०० मिलिलिटर) दूध समेत नष्ट गरिएको थियो। अनुगमन टोलीले क्यान्टिनलाई सात दिनका लागि बन्द गरी स्पष्टीकरण सहित काठमाडौँ महानगरपालिकामा उपस्थित हुन निर्देशन दिएको छ।
ओम अस्पताल तथा रिसर्च सेन्टर प्रालिका प्रशासनिक प्रबन्धक विपिन जंगमका अनुसार, क्यान्टिन पुनः सञ्चालनमा ल्याउनु अघि संरचना मर्मत, रंगरोगन र आवश्यक सरसफाइ कार्य पूरा गरिने छ।
उक्त अनुगमन क्रममा सोही क्षेत्रका अन्य अस्पतालहरू, मेडिकेयर अस्पताल र हेल्पिङ ह्याण्ड्स अस्पतालका क्यान्टिनको पनि निरीक्षण गरिएको थियो।
मेडिकेयर अस्पतालको “द केयर क्यान्टिन”मा लेबल विहीन खाद्यवस्तु प्रयोग, खुला डस्टबिन र पिउने पानीमा अमोनियाको मात्रा मापदण्ड भित्र भए पनि सुधार आवश्यक रहेको पाइएको थियो। टोलीले क्यान्टिन सञ्चालकलाई पेष्ट कन्ट्रोल प्रभावकारी बनाउने, अनुमति प्राप्त उद्योगका वस्तु मात्र प्रयोग गर्ने, आगो नियन्त्रण उपकरण राख्ने र खाना पकाउने स्थान तथा भाँडा माझ्ने ठाउँ अलग गर्ने निर्देशन दिएको छ।
त्यस्तै, हेल्पिङ ह्याण्ड्स अस्पतालको क्यान्टिनमा व्यक्तिगत सरसफाइ सन्तोषजनक देखिए पनि खाद्य रंगको उचित प्रयोग, अनुज्ञापत्र प्राप्त खाद्य पदार्थको मात्र बिक्री र आगो जोखिम न्यूनीकरणका उपकरण थप बलियो बनाउन निर्देशन दिइएको थियो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आगामी दिनमा पनि स्वास्थ्य संस्थासँग सम्बन्धित क्यान्टिन तथा क्यान्टिन सेवा प्रदायकहरूमा नियमित अनुगमन जारी रहने जनाएको छ।




.gif)





