हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. इन्दिरा अधिकारी पौडेल नियुक्त भएकी छिन् । प्रतिष्ठानमा कार्यरत नर्सिङ विभागको विभागीय प्रमुख सह–प्राध्यापकमा कार्यरत उनलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ अनुसार नियुक्त गरिएको हो ।उनलाई आन्तरिक बढुवामार्फत ऐनको दफा २१ बमोजिम डिनमा नियुक्त गरिएको हो । नियुक्तिसँगै डा. पौडेलले प्रतिष्ठानको शैक्षिक तथा प्राज्ञिक नेतृत्व सम्हाल्ने छिन् । उनले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेकी छन् ।
मातृ तथा बाल स्वास्थ्य उनको विशेषज्ञताको क्षेत्र हो । डा. पौडेल विगत लामो समयदेखि नर्सिङ शिक्षा तथा अनुसन्धानमा सक्रिय छिन् । प्रतिष्ठानमा नर्सिङ विभागको प्रमुख रहँदा उनले स्नातक तथा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरूको पाठ्यक्रम विकास र नेतृत्वमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । २० वर्ष नर्सिङ सेवामा कार्यरत डा. पौडेलले १७ वर्ष शैक्षिक (एकेडेमिक) क्षेत्रमा काम गरेको अनुभव छ । उनले प्रतिष्ठानको नर्सिङ विभागको विभागीय प्रमुख को रूपमा ३ वर्ष ६ महिनादेखि काम गर्दै आएकी छिन् भने त्यसअघि मनमोहन इस्टिच्यसट अफ मेडिकल साइन्स र चितवन मेडिकल कलेज भरतपुरमा काम गरिसकेकी छिन् ।




.gif)



