काठमाडौँ । कात्तिक १७, राष्ट्रपति रामचन्द्र पौडेल आज कतारको राजधानी दोहा प्रस्थान गर्दैछन्। उनी कात्तिक १८ देखि २० गतेसम्म दोहामा आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी हुनेछन्।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा राष्ट्रपति पौडेल १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी हुन लागेका हुन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नेछन्।
संयुक्त राष्ट्रसङ्घ महासभाको निर्णय अनुसार आयोजना हुन लागेको यो सम्मेलन सदस्य राष्ट्रका लागि अत्यन्तै महत्त्वपूर्ण हुने विश्वास लिइएको छ। मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सचिव राईले ३० वर्षपछि हुन लागेको यो सम्मेलनमा नेपालको राष्ट्रपतिको सहभागिता यसको गरिमा र महत्वअनुरूप भएको बताए।
सम्मेलनका क्रममा राष्ट्रपति पौडेलले कतारका अमिर शेख तमिम बिन हमद अल थानी, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस लगायत विभिन्न उच्च व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
सन् १९९५ मा पहिलो पटक डेनमार्कको कोपनहेगनमा भएको उक्त सम्मेलन यसपटक कतारमा आयोजना हुँदैछ। सम्मेलनमा विश्वले सामना गरिरहेका विकास असमानता, जनसङ्ख्यागत असन्तुलन, र प्रविधिको प्रभावजस्ता विषयमा गहन छलफल हुने बताइएको छ।
नेपाल सन् १९५५ देखि संयुक्त राष्ट्रसङ्घको सदस्य रहँदै आएको छ र हाल संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष देश भएकोले पनि नेपालको सहभागिता अर्थपूर्ण ठहरिएको छ।
कतार भ्रमण पूरा गरी राष्ट्रपति पौडेल यही कात्तिक २० गते स्वदेश फर्कने कार्यक्रम छ, परराष्ट्र मन्त्रालयले जनाएको छ।




.gif)





