काठमाडौँ । कात्तिक १५, पूर्वअर्थमन्त्री फोरमले आमनागरिक र व्यवसायीलाई हालैका अस्थिर परिस्थितिबाट विचलित नभई आर्थिक लगायतका नियमित क्रियाकलापहरू सञ्चालन गर्न आह्वान गरेको छ।
अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा शुक्रबार बसेको फोरमको बैठकले भदौ २४ गते जेनजीको भावना विपरीत आपराधिक मानसिकता भएका अराजक समूहद्वारा गरिएका तोडफोड, लुटपाट र आगजनीका घटनाले आमनागरिक र व्यवसायी समुदायमा पारेको आर्थिक तथा मनोवैज्ञानिक क्षतिप्रति चिन्ता व्यक्त गर्दै यस्तो आह्वान गरेको हो।
फोरमका सदस्यसचिव विमल केडियाका अनुसार बैठकले घटनाबाट उत्पन्न त्रास र अनिश्चितताले आर्थिक क्रियाकलाप कमजोर नहोस् भन्ने उद्देश्यले सबै पक्षलाई आत्मविश्वासपूर्वक अगाडि बढ्न आग्रह गरेको छ।
‘यस घटनाबाट आमनागरिक र व्यावसायिक जगतको मनोबल कमजोर हुन नदिन सरकारले सुरक्षा, राहत र सहुलियतका प्रयासलाई थप प्रभावकारी रूपमा अघि बढाउनुपर्ने आवश्यकता रहेको छ,’ केडियाले बताए।
बैठकले कर विवरण बुझाउने समयावधि तथा ऋण र ब्याज भुक्तानीको अवधिलाई अतिरिक्त १५ दिन थप गर्न सरकारलाई अनुरोध गरेको छ। साथै, भदौ २४ गतेको घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई कारबाहीमा तीव्रता ल्याउन पनि आग्रह गरिएको छ।
बैठकमा अर्थमन्त्री खनालसँगै पूर्वअर्थमन्त्रीहरू प्रकाशचन्द्र लोहनी, सुरेन्द्र पाण्डे, वर्षमान पुन, प्रकाशशरण महत, नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर विश्व पौडेल र अर्थसचिव घनश्याम उपाध्यायको सहभागिता रहेको थियो।




.gif)





