images

२०८३ आश्विन १६ गते

images
images
images
  • स्वास्थ्य
  • स्वास्थ्य बिमामा ५६ हजारभन्दा बढी काठमाडौँ...

स्वास्थ्य बिमामा ५६ हजारभन्दा बढी काठमाडौँ महानगरवासी आबद्ध

स्वास्थ्य बिमामा ५६ हजारभन्दा बढी काठमाडौँ महानगरवासी आबद्ध

images
images
शुक्रवार, कार्तिक १४ २०८२
शुक्रवार, कार्तिक १४ २०८२
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा गर्दै महानगरवासीको स्वास्थ्य सेवाको प्रगति विवरण सार्वजनिक गरेको छ ।  विवरणअनुसार अहिलेसम्ममा ५६ हजार ६७३ जना काठमाडौँ महानगरवासी स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् । यस वर्ष १ लाख ९४ हजार १९३ जनालाई स्वास्थ्य सेवा प्रदान गरिनुका साथै स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको महानगरले जनाएको छ ।

    images
    images

    स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका कुल ५६ हजार ६७३ जनामध्ये १३ हजार ५७५ जना ज्येष्ठ नागरिक, १ हजार ८५ जना अपाङ्गता भएका व्यक्ति र एचआइभी सङ्क्रमित २ जनासहितका व्यक्ति रहेका छन् । यो कार्यक्रमले विशेष गरी कमजोर वर्गलाई स्वास्थ्य सेवामा पहुँच पु-याउन सहयोग गरेको छ ।महानगरपालिकाले १ लाख ९४ हजार १९३ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ । उनीहरुमध्ये ८४ हजार ७०४ जनाले बहिरङ्ग सेवा लिएका हुन् । स्वास्थ्य सेवाको गुणस्तर र पहुँच बढाउन ३० वटा स्वास्थ्य संस्था दर्ता र नवीकरण गरियो भने १२० वटा स्वास्थ्य संस्थाको अनुगमन भएको महानगरले जनाएको छ ।

    पूर्वाधार विकासमा पनि महानगरले प्रगति गरेको छ । वडा नम्बर १, ८, १०, १२, २६ र ३० बाट भिडियो एक्स रे सेवा प्रारम्भ भएको छ । महानगरपालिकाले ३२ वटै वडामा स्वास्थ्य प्रवर्धन केन्द्र स्थापना गरेको छ भने ३१ वटा वडामा प्रयोगशाला र फिजियोथेरापी सेवा समेत सञ्चालन गरेको छ । यी केन्द्रसँगै महानगरपालिकाभित्र एउटा प्राथमिक स्वास्थ्य केन्द्र, ६ वटा सुरक्षित गर्भपतन सेवा केन्द्र, १ वटा वैकल्पिक चिकित्सा तथा आयुर्वेदिक संस्था र एउटा अक्युपङ्चर सेवा सञ्चालनमा रहेका छन् ।महानगरले विभिन्न विशेष स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गरेको छ । यस वर्ष १ हजार ८७ जनाको विपन्न नागरिक उपचार सिफारिस हुनुका साथै बेवारिसे, विपन्न र बेसहाराको निःशुल्क उपचार अन्तर्गत २१० जनालाई निःशुल्क उपचार सेवा प्रदान गरेको महानगरले जनाएको छ  । नसर्ने रोग स्क्रिनिङ् महाअभियान अन्तर्गत २६ हजार १९ जनाको जाँच गरेको छ  । किशोरीहरुको रक्तअल्पता स्क्रिनिङ् कार्यक्रममा २ हजार ३ सय किशोरीहरुको परीक्षण गरियो । १ हजार २२२ पिन्ट निःशुल्क रगत र रक्त तत्त्व उपलब्ध गराइएको महानगरको प्रगति विवरणमा उल्लेख छ ।

    images
    images

    यसै वर्षदेखि ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरूले सेवन गर्ने दीर्घ रोगका उपचारका लागि प्रयोग गरिने औषधिहरूको लगत सङ्कलन थालनी गरिएको छ । २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइएको महानगरले जनाएको छ । पर्व र विभिन्न अवसर पारेर २५ वटा स्वास्थ्य शिविर सञ्चालन गरेर करिब १५ हजार सेवाग्राहीलाई स्वास्थ्य सेवा र परामर्श प्रदान गरिएको उल्लेख छ ।मातृ तथा शिशु स्वास्थ्यलाई प्राथमिकतामा राख्दै १६ हजार १८८ जनाले खोप सेवा प्राप्त गरे भने स्वयम् सेविका मार्फत ५९ हजार ६२० जनालाई सेवा प्रदान गरिनुका साथै किशोरकिशोरी र महिला स्वास्थ्य तथा विद्यालय स्वास्थ्य र जीवनशैली सर्वेक्षणसमेत गरिएको महानगरले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend