काठमाडौँ । कार्तिक १२, नेपाल टेलिकमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वसाधारण यात्रुहरूका लागि निस्शुल्क Wi-Fi इन्टरनेट सेवा (Free Wi-Fi) सुरु गरेको छ।
टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत देशभरका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरूमा यात्रु लक्षित निस्शुल्क इन्टरनेट सेवा विस्तार गर्ने योजना अघि सारेको हो। उक्त योजनाको पहिलो चरणअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा औपचारिक रूपमा सुरु गरिएको कम्पनीले जनाएको छ।
सेवाको शुभारम्भ नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सविना मास्के र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले संयुक्त रूपमा गरे।
टेलिकमका अनुसार, Wi-Fi सेवाको कभरेज क्षेत्रमा विमानस्थलको आगमन कक्ष, प्रस्थान कक्ष, VIP Lounge तथा प्रतिक्षालय लगायतका स्थानहरू समावेश छन्। यात्रुहरूले उक्त क्षेत्रमा SSID “NT-CAAN Free WiFi” नाम भएको नेटवर्कमा जडान गरी निर्देशन अनुसार चरणहरू पूरा गरेपछि नि:शुल्क इन्टरनेट सेवा उपयोग गर्न सक्नेछन्।
नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको सम्झौता अनुसार देशभरका ३ अन्तर्राष्ट्रिय र ३४ आन्तरिक विमानस्थलहरूमा पनि चरणबद्ध रूपमा यो सेवा विस्तार गर्ने योजना रहेको टेलिकमले जनाएको छ।




.gif)





