काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेका बैंकिङ्ग सम्पत्ति, गैर–बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउने अनलाइन पोर्टल सार्वजनिक गरेको छ।
बैंकका अनुसार, नयाँ पोर्टल मार्फत ग्राहक तथा सर्वसाधारणले लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा र गुगल म्यापमार्फत स्थान समेत हेर्न सक्ने सुविधा पाउनेछन्।
ग्राहकहरूले पोर्टल मार्फत सम्पत्तिबारे थप जानकारीका लागि आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर र सम्पर्क ठेगाना राखी सन्देश पठाउन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।
बैंकले पोर्टलमा रहेका सम्पत्तिहरूको विवरण नियमित रूपमा अपडेट गर्ने बताएको छ। यसले खरिदमा इच्छुक ग्राहकहरूलाई आवश्यक सूचना सहित सम्पत्तिबारे जानकारी प्राप्त गर्न सजिलो बनाउने बैंकको विश्वास छ।
एनआईसी एशिया बैंकका अधिकारीहरूका अनुसार, यस पोर्टलले लिलाम बिक्री प्रक्रियामा पारदर्शिता वृद्धि गर्ने र ग्राहकहरूलाई सहज तथा सुरक्षित माध्यम प्रदान गर्नेछ। बैंकले यसमार्फत सम्पत्ति खरिदमा इच्छुक सर्वसाधारण र लगानीकर्ताहरूको पहुँच सुनिश्चित हुने अपेक्षा गरेको छ।
ग्राहकहरूले सम्पत्ति विवरण र बिक्री प्रक्रिया सम्बन्धी थप जानकारीका लागि पोर्टलको लिंक https://auctionassistance.nicasiabank.com मा पहुँच गर्न सक्नेछन्।




.gif)





