काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ७० अर्ब रुपैयाँ उठाउन लागेको छ।राष्ट्र बैंकले आज दिउँसो ३ बजे बोलकबोल हुने गरी निक्षेप संकलनको सूचना जारी गरेको हो। यसमा निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा आधारित हुने राष्ट्र बैंकले जनाएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन्। दुई महिनाका लागि जारी गरिएको यस निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी मंसिर २३ गते गरिनेछ।बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। यस उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट निश्चित अवधिका लागि रकम खिचेर बजारमा उपलब्ध तरलता व्यवस्थापन गर्ने गरिन्छ।




.gif)



