काठमाडौँ । कात्तिक ९, गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका ५६ वर्षीय यमबहादुर थापा व्यावसायिक रूपमा किबीखेती गर्दै राम्रो आम्दानी गर्न थालेका छन्। परम्परागत रूपमा मकै र कोदोखेती हुने उनका बारीमा अहिले आठ रोपनीमा यलिसन, हेवार्ड, रेड, गोल्डेन, ब्रुनो र मोन्टी गरी छ प्रकारका किबीका बोटहरू फलेका छन्।
थापाले किबीखेतीबाट वार्षिक रु ६ लाखभन्दा बढी आम्दानी गरिरहेको जानकारी दिए। उनले ११ वर्षअघि व्यावसायिक रूपमा किबीखेती सुरु गरेका थिए। उनका अनुसार बोट लगाएको तीन वर्षपछि नै उत्पादन दिन थालेपछि उनी यसमा प्रेरित भए। हाल उनका बारीमा १५० वटा किबीका बोट छन्, जसमा एउटै बोटबाट ५० किलोदेखि एक क्विन्टलसम्म किबी फल्छ।
थापाले सुरुमा तार, पाइप र खम्बा निर्माण गर्न रु ८ लाख खर्च गरेका थिए। उनले भने, “त्यही लगानीले अहिलेसम्म काम गरेको छ। यो बहुवर्षीय भएकोले एकपटक लगाएपछि ५० वर्षसम्म आम्दानी लिन सकिन्छ। किबीमा रोग पनि कम लाग्छ।”
उत्पादित किबी बजारमा रु २००–३०० प्रति किलोमा बिक्री भइरहेको छ। भार्सेको किबी स्थानीय बजारदेखि पाल्पा र बुटवलसम्म पुग्छ। गत वर्षदेखि उनले किबीको वाइन उत्पादन सुरु गरेका छन्, जसको बजारमा राम्रो माग रहेको छ। साथै, उनी पाँच वर्षदेखि किबी नर्सरी पनि सञ्चालन गर्दै आएका छन्, जहाँ हाल आठ हजार नयाँ बिरुवा छन्।
सत्यवती गाउँपालिकाले भार्से गाउँलाई किबीको पकेट क्षेत्र घोषणा गरी कृषकलाई प्रोत्साहित गर्दै आएको छ। किबीखेती विस्तारका लागि प्राविधिक सहयोग, तालिम, टनेल, नर्सरी र बिरुवामा अनुदान दिइएको गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले जानकारी दिए।
यस क्षेत्रका पाँच किबी समूहमा हाल ८० कृषक आबद्ध छन्। कृषकको घरमा १० देखि १५० बोटसम्म किबी छन्, र हाल ४० हेक्टरमा किबी उत्पादन भइरहेको छ। गोल्डेन र रेड किबी सबैभन्दा बढी मूल्य पाउने किसिम हुन्।




.gif)





