images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • सामूहिक रूपमा गरिएको सयपत्री खेतीबाट तनहुँका...

सामूहिक रूपमा गरिएको सयपत्री खेतीबाट तनहुँका महिलाहरू रु ७ लाख आम्दानी गर्न सफल

सामूहिक रूपमा गरिएको सयपत्री खेतीबाट तनहुँका महिलाहरू रु ७ लाख आम्दानी गर्न सफल

images
images
शनिवार, कार्तिक ८ २०८२
शनिवार, कार्तिक ८ २०८२
  • काठमाडौँ । कात्तिक ८, तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटारस्थित महिला लघु उद्यमी समूहले यस वर्ष सयपत्री फूल खेतीबाट रु ७ लाखको बिक्री गरेको छ। सामूहिक रूपमा गरिएको खेतीबाट महिलाहरूले पहिलो र दोस्रो चरणको टिपाइमै उल्लेखनीय आम्दानी गर्न सफल भएका छन्।

    images
    images

    समूहकी अध्यक्ष सुन्तली गुरुङका अनुसार असोज २० गतेदेखि कात्तिक ५ गतेसम्म करिब २ हजार किलो सयपत्री फूल बिक्री गरिएको हो। फूल प्रतिकिलो रु ३५० देखि ४०० सम्ममा बिक्री भएको उनले बताइन्।

    “बजारको कुनै समस्या छैन, हामीले उत्पादन गरेको फूल आँबुखैरेनी, दमौली, डुम्रे, पोखरा, मुग्लिन र नारायणगढ सम्म पुगेको छ,” गुरुङले भनिन्, “फूलले राम्रो बजार पाउँदा हामी झन उत्साहित भएका छौँ।”

    images
    images

    उनका अनुसार खेतमा अझै सयपत्री फूल बाँकी छन्, जसलाई आगामी छिम्केश्वरी बूढीदेवी महायज्ञ र एकादशी पर्वका लागि बिक्री गर्ने तयारी भइरहेको छ। पहिलो चरणमा टिपिएका फूलहरू चिस्यान केन्द्रमा राखी माग उच्च भएको समयमा बिक्री गरिएको थियो।

    समूहका महिलाहरूले विगत तीन वर्षदेखि सयपत्री खेती गर्दै आएका छन्। पहिलो वर्ष २२ रोपनीमा सुरु गरिएको खेती अहिले ५० रोपनीमा विस्तार भएको छ। हाल समूहमा ४५ जना महिला सक्रिय रूपमा संलग्न छन्।

    गाउँपालिकाको कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार स्थानीय तहले फूलखेतीका लागि आवश्यक सीप र तालिम महिलाहरूलाई उपलब्ध गराउँदै आएको छ। “फूलखेती, टिप्ने तरिका र माला बनाउने सीपसमेत महिलालाई सिकाइएको छ,” उनले बताए।

    गत वर्ष कतार सम्म सयपत्री फूल निर्यात गरिएको भए पनि यस वर्ष स्थानीय बजारमै उच्च माग भएको कारण विदेश पठाउन नसकिएको उनले जानकारी दिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend