काठमाडौँ । बाजुरामा उत्पादित अर्गानिक स्याउ बिक्रीबाट कृषकहरूले १ करोड ५० लाख रुपैयाँ बराबरको आम्दानी गरेका छन्। जिल्लाका हिमाली, स्वामिकार्तिक, जगन्नाथ र बुढिनन्दा गाउँपालिकामा उत्पादन गरिएको स्याउ देशका ठूला सहरहरू, काठमाडौं, नेपालगञ्ज, सुर्खेत र धनगढीमा बिक्री गरिएको हो।
कृषि ज्ञान केन्द्र बाजुराका अनुसार यस वर्ष जिल्लामा जम्मा ४२५ हेक्टरमध्ये करिब २०० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ। त्यसबाट करिब १ हजार ६ सय मेट्रिक टन स्याउ उत्पादन भएको छ। उत्पादन अघिल्लो वर्षभन्दा केही घटेको केन्द्रले जनाएको छ।
भदौ १५ गतेदेखि स्याउ पाक्न सुरु भएको थियो। केही किसानले डोकोमा बोकेर नजिकैका बजारमा बिक्री गरे पनि ठूला मात्रामा बिक्री वितरण प्रणाली मार्फत गरिएको हो। सडक अवरोध र ढुवानी समस्या हुँदा केही स्याउ बिग्रिए पनि कर्णाली करिडोर मार्फत अन्य जिल्लामा पठाउन सफल भएको कृषकहरूले बताएका छन्।
बुढिनन्दाका स्याउ किसान पुर रावतका अनुसार बाटो बन्दका कारण केही घाटा भए पनि निर्यात सम्भव भएकाले किसानले राम्रै आम्दानी गरेका छन्। कृषि ज्ञान केन्द्रले पछिल्ला चार वर्षदेखि कृषकहरूको बारीबाटै ढुवानीमा सहुलियत सहित स्याउ बाह्य जिल्लामा पठाउँदै आएको छ।
बाजुरामा फुजी, गोल्डेन रेड, डेलिसियस र स्थानीय जातका स्याउ उत्पादन हुने गरेका छन्। हिमाली, बुढिनन्दा, स्वामिकार्तिक र जगन्नाथका साथै गौमुल र बडीमालिका गाउँपालिकामा पनि पछिल्लो समय स्याउ खेती विस्तार हुँदै गएको केन्द्रले जनाएको छ।




.gif)





