काठमाडौँ । कात्तिक ७, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्ट अनिवार्य अवकाशमा पुगेका छन्। उनले सन् २०५७ असार १ गते अधिकृतको रूपमा राष्ट्र बैंकमा प्रवेश गरेका थिए। कार्यकारी निर्देशकको सात वर्षे कार्यावधि पूरा भएपछि भट्ट बिहीबार देखि स्वाभाविक रूपमा अवकाश भएका हुन्।
सेवाकालका क्रममा डा.भट्टले भुक्तानी प्रणाली विभाग, बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, आर्थिक अनुसन्धान विभाग, र राष्ट्र ऋण व्यवस्थापन विभागको प्रमुखका रूपमा महत्वपूर्ण जिम्मेवारी वहन गरेका थिए। पछिल्ला दिनमा उनी गभर्नर कार्यालयमा कार्यरत थिए।
डा.भट्ट यसअघि पनि गभर्नर नियुक्ति प्रतिस्पर्धामा रहेका थिए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा पार्टी कोटाबाट गभर्नर बन्ने वचन पाएपछि उनले गत वैशाख ५ गते कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए। तर तत्कालीन कायममुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनाले राजीनामा स्वीकृत गर्न अस्वीकार गरेकी थिइन्। नीलम पनि गभर्नरको दौडमा रहेकाले उनले राजीनामा नस्वीकृत गरेको बताइएको थियो।
पछि सरकारले कांग्रेस कोटाबाट विश्व पौडेललाई गभर्नर नियुक्त गरेको थियो। पौडेलले पदभार सम्हालेपछि डा.भट्टलाई गभर्नर कार्यालयमा सरुवा गरी आफ्ना सहयोगीका रूपमा राखेका थिए।
झन्डै सवा दुई दशक लामो सेवा यात्रापछि डा.भट्ट अब औपचारिक रूपमा राष्ट्र बैंक सेवा जीवनबाट अवकाश भएका छन्।




.gif)





