काठमाडौँ । असोज ३१, नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तार गर्न कार्य तिव्र रूपमा अगाडि बढाएको छ। निर्देशनालयका निर्देशक डा.कमल लामिछानेका अनुसार हालसम्म कर्णालीका ३७ पालिकामा फोरजी तथा फाइबर नेट सेवा विस्तार गरिएको छ।
ग्रामीण क्षेत्रमा नेटवर्कको सुदृढीकरण र दुर्गम बस्तीमा सञ्चार सेवा पुर्याउने लक्ष्यसहित काम अगाडि बढाइएको छ, उनले बताए। थप ५० पालिकामा सेवा सर्वे भइरहेको जानकारी पनि उनले दिए।
सुर्खेतसम्म कोहलपुर–सुर्खेत १३२ केभीको विद्युत् प्रसारण लाइन जोडिएपछि फाइबर नेट विस्तार अझ सहज हुने उनले बताए। हाल चिङ्गाड गाउँपालिकामा फाइबर नेट सेवा विस्तारको तयारी भइरहेको छ।
डोल्पा, रुकुमपश्चिम, जाजरकोट, सुर्खेत लेखफर्सालगायत १० स्थानमा बिटीएस सेवा सञ्चालनमा ल्याइएको छ। दैलेख, कालीकोट, जुम्ला सिञ्जासम्म फाइबर नेट विस्तारको काम भइरहेको छ भने प्राविधिक टोलीले घरदैलो अभियान मार्फत काम गरिरहेको जानकारी पनि निर्देशक लामिछानेले दिए।
प्रदेशभर ३० वटा सञ्चार साइटका लागि नेपाल विद्युत प्राधिकरणलाई अग्रिम रकम उपलब्ध गराइसकिएको र दुर्गमका १६ स्थानीय तहमा बजार क्षेत्रमा सेवा पुर्याइसकिएको समेत उनले बताए।
हिल्सा (हुम्ला) मा पनि यसै वर्ष फोरजी सेवा सञ्चालन गर्ने लक्ष्य टेलिकमले राखेको छ। डोल्पाको मुड्केचुलामा बिटीएस स्थापना हुँदैछ भने सेवा सञ्चालनमा समस्या आए रिङ नेटमार्फत सेवा विस्तार गरिने जनाइएको छ।
“डिजिटल कर्णाली कन्क्लेभको परिकल्पनाअनुसार काम भइरहेको छ,” निर्देशक लामिछानेले भने।




.gif)





