काठमाडौँ । असोज ३०, असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले झापा जिल्लामा ठूलो मात्रामा धानबालीमा क्षति पुर्याएको छ। कृषि ज्ञान केन्द्र झापाका अनुसार कुल ४६३ दशमलव ४२ हेक्टर जमिनमा लगाइएको धानबाली पूर्णरूपमा नष्ट भएको छ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले दिएको जानकारीअनुसार, बाढीका कारण ७०३ जना किसानको रु ५ करोड ७५ लाख २३ हजार बराबरको १,६४४ दशमलव ३३ मेट्रिक टन धान नष्ट भएको छ।
“बाढीले अन्य कृषिबालीमा पनि क्षति गरेको छ, तर धानमा जति अरुमा छैन,” प्रमुख विष्टले भने, “पाक्न लागेको धान बाढीले बगाउँदा किसानको बिचल्ली भएको छ।”
वर्षाका कारण कनकाई र विरिङ नदीमा आएको बाढीले सबैभन्दा बढी धान खेतमा क्षति पु¥याएको छ। बाढीले झापाको गौरीगञ्ज, झापा गाउँपालिका, भद्रपुर, कनकाई, शिवसताक्षी र गौरादह नगरपालिकाको करिब ५,०१२ दशमलव ६३ हेक्टर जमिनमा लगाइएको विभिन्न कृषिजन्य वस्तु बगाएको कृषि कार्यालयले जनाएको छ।
सबैभन्दा बढी क्षति झापा गाउँपालिकामा भएको हो। विशेषगरी वडाहरू नं. १, २ र ३ मा रहेका ४३१ किसानको करिब रु ५ करोड १४ लाख ४७ हजार बराबरको धान, आलु र केरा नष्ट भएको छ।
प्रमुख विष्टले क्षतिको विस्तृत विवरण तयार पार्ने काम भइरहेको जानकारी दिँदै, प्रभावित किसानका लागि राहत तथा पुनःस्थापना कार्यक्रम आवश्यक रहेको उल्लेख गरे।




.gif)





