काठमाडौँ । असोज ३०, नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार पुनः गिरावटतर्फ उन्मुख भएको छ। अघिल्लो दिनको तुलनामा ०.७३ प्रतिशत अर्थात् १८.४० अंकले घट्दै नेप्से २,४८७.१७ बिन्दुमा ओर्लेर बन्द भएको हो।
बुधबार पनि नेप्से २२.५८ अंकले घटेको थियो। यसरी बजार लगातार दोस्रो दिन घटेको हो। बिहीबारको कारोबारमा ४५ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो। मूल्य घट्ने कम्पनीको संख्या बढेपछि समग्र बजारमा दोहोरो अंकको गिरावट आएको हो।
बिहीबार ३६,५३१ पटकको कारोबारमा ७६,४३,६३५ कित्ता सेयर किनबेच भएका छन्। कुल कारोबार रकम ३ अर्ब २७ करोड रुपैयाँ नाघेको छ। अघिल्लो दिन बुधबार भने ३५,७५० पटकको कारोबारमा ७६,११,६६० कित्ता सेयर किनबेच हुँदै ३ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
उपसमूहहरूको परिसूचकतर्फ हेर्दा बिहीबार १३ उपसमूह मध्ये ‘बैंकिङ’ र ‘सामूहिक लगानी कोष’ उपसमूहको मात्र परिसूचक सामान्यरूपमा बढेको छ। बाँकी सबै उपसमूहको परिसूचक घटेपछि समग्र बजार दबाबमा आएको हो।




.gif)





