काठमाडौँ । असोज २९, कामना सेवा विकास बैंक लिमिटेडले नेपालकै पहिलो डोर स्टेप बैंकिङ सेवा सार्वजनिक गर्दै देशको बैंकिङ क्षेत्रमा नयाँ युगको सुरुवात गरेको छ। यो सेवा अन्तर्गत ग्राहकले बैंकसम्म नगई घर वा कार्यालयमै बसेर बैंकका विविध सेवा सहज रुपमा प्राप्त गर्न सक्नेछन्।
विशेषगरी व्यस्त व्यवसायी, कार्यालय कर्मचारी, गृहीणी तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी ल्याइएको यस सेवाले बैंकिङ पहुँचलाई अझ प्रविधिमैत्री, सरल र प्रभावकारी बनाउने बैंकको विश्वास छ।
बैंकले उपलब्ध गराउने अत्याधुनिक सेवा अन्तर्गत नगद जम्मा, खाताबाट नगद झिक्ने, चेक बुक माग, स्टेटमेन्ट, ब्यालेन्स सर्टिफिकेट लगायतका सुविधा ग्राहकको माग अनुसार बैंक प्रतिनिधि घरमै गएर प्रदान गर्नेछन्। यी सम्पूर्ण सेवा ग्राहकका लागि पूर्णतः निशुल्क हुने बताइएको छ।
ग्राहकले मोवाइल बैंकिङ एप मार्फत सेवा अनुरोध गरेपछि बैंक प्रतिनिधि सम्बन्धित स्थानमा पुगी सेवा उपलब्ध गराउनेछन्। नेपाल राष्ट्र बैंकको स्वीकृतिमा आधारित यो सुविधा विश्वका केही विकशित राष्ट्रमा चलेको भए पनि नेपालको सन्दर्भमा पहिलोपटक कामना सेवाले सार्वजनिक गरेको हो।
कामना सेवा विकास बैंकका प्रमुख मार्केटिङ अधिकृत दिपेन्द्र सुवेदीका अनुसार यो सुविधा ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै सुरु गरिएको हो। “डोर स्टेप बैंकिङ सेवा डिजिटल प्रविधिमा आधारित सुविधा हो। यसले ग्राहकलाई समयको बचत, सुरक्षाको अनुभूति र सहज सेवा उपलब्ध गराउनेछ,” सुवेदीले बताए।
बैंकले डोर स्टेप बैंकिङ अन्तर्गत लकर सेवा, एटिएम डेबिट कार्ड तथा मोवाइल बैंकिङ सुविधा समेत निशुल्क प्रदान गर्दै आएको छ।
हाल यो सेवा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा सिमित रहे पनि बैंकले निकट भविष्यमै देशभर विस्तार गर्ने योजना बनाएको छ।




.gif)





