काठमाडौँ । असोज २९, नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्नका लागि बुधवार फेरि ३५ अर्ब रुपैयाँ तान्ने तयारी गरेको छ। राष्ट्र बैंकले केन्द्रीय बैंकको निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) प्रयोग गरी यो रकम बैंक तथा वित्तीय संस्थाबाट तान्ने जनाएको छ।
यसका लागि बुधवार दिउँसो ३ बजे अनलाइन प्रणालीमार्फत बोलकबोल (bidding) गरिनेछ। राष्ट्र बैंकका अनुसार यो निक्षेप संकलन कार्यक्रम अन्तर्गत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड र अधिकतम ५ अर्ब रुपैयाँसम्म भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन्। यो निक्षेप संकलन ४ दिने हुनेछ, जसको साँवा तथा ब्याज कात्तिक २ गते भुक्तानी गरिनेछ।
बोलकबोल ब्याजदरमा आधारित हुनेछ, र बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।
राष्ट्र बैंकले यो कदम अत्यधिक तरलता व्यवस्थापन गर्न तथा मौद्रिक स्थायित्व कायम राख्नका लागि चालेको हो।




.gif)





