काठमाडौँ । असोज २९, यस वर्षको तिहारमा लोडसेडिङ नहुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणले उपभोक्ताहरूले उज्यालोको पर्व निश्चिन्त रूपमा मनाउन सक्ने बताएका छन्।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार तिहार, विशेषगरी लक्ष्मी पूजाको दिन, विगतमा अधिकतम लोड हुने समय मानिँदै आएको थियो। तर, तिहारको समयमा उद्योग धन्दा बन्द हुने, धेरै कामदारहरू घर फर्किने तथा औद्योगिक क्षेत्रमा विद्युत् खपत घट्ने हुँदा समग्र प्रणालीमा लोड घट्ने देखिएको उनले बताए।
“घरायसी खपत केही बढे पनि समग्र लोड कम हुने प्रवृत्ति रहन्छ,” उनले भने।
ढकालका अनुसार हाल अधिकतम लोड भदौ महिनामा देखिन्छ भने काठमाडौं उपत्यकामा माघ, मंसिर र पुस महिनामा ५५० देखि ६०० मेगावाट सम्म लोड पुग्ने गरेको छ।
जाडो बढेसँगै विद्युत् खपतमा वृद्धि भए पनि मनसुनजन्य समस्या घट्ने भएकाले आपूर्ति सहज हुने प्राधिकरणको भनाइ छ। तिहारको समयमा विद्युत् आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरिएको छ र लाइनमा कुनै फल्ट नआओस् भनेर कर्मचारीहरूलाई सतर्कता अपनाउन निर्देशन दिइएको छ।
त्यसैगरी, विद्युत् प्रणालीलाई थप विश्वसनीय बनाउन नयाँ लाइन विस्तार, सबस्टेसन स्तरोन्नति र पूर्वाधार विकासका कार्यहरू निरन्तर भइरहेका छन्। प्राधिकरणका अनुसार विगतमा तिहार र लक्ष्मी पूजाका दिनहरूमा अधिकतम १,६०० मेगावाटसम्म विद्युत् खपत हुने गरेको थियो र यस वर्ष पनि सोही हाराहारीमा खपत हुने अनुमान गरिएको छ।




.gif)





