काठमाडौँ । असोज २८, धन्तेरसको अवसरलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले चाँदीका सिक्काको विक्री सुरु गरेको छ। राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखाबाट लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित १० ग्राम तौल भएका चाँदीका सिक्का बिक्रीमा राखिएको छ।
महाशाखाका अनुसार प्रत्येक सिक्काको मूल्य ३,२०० रुपैयाँ निर्धारण गरिएको छ। विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि चाँदीका साथै सुनको असर्फी बिक्री हुने अपेक्षा गरिएको थियो। तर, राष्ट्र बैंकको सञ्चालक समितिबाट असर्फी छपाइ सम्बन्धी निर्णय नआएकाले यस वर्ष सुनको सिक्का बिक्री नगर्ने निर्णय गरिएको महाशाखाले जनाएको छ।
चाँदीका सिक्का बिक्रीमा आएसँगै सर्वसाधारणहरू लक्ष्मीपूजाको तयारीस्वरूप सिक्का खरिद गर्न टक्सार महाशाखा पुग्न थालेका छन्। धन्तेरस र तिहारजस्ता चाडपर्वमा यस्ता धार्मिक प्रतीक भएका सिक्काको बिक्रीमा विशेष चासो देखिने गरेको छ।




.gif)





