काठमाडौँ । असोज २८, नेपाल राष्ट्र बैंकले विभिन्न डिजिटल माध्यमबाट भइरहेको वित्तीय ठगीप्रति गम्भीर ध्यान दिँदै सर्वसाधारणलाई विशेष सतर्क रहन आग्रह गरेको छ। बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले एक सन्देश जारी गर्दै वित्तीय कारोबार गर्दा सजगता अपनाउन आग्रह गरेको हो।
केन्द्रीय बैंकले वट्सएप, भाइबर, म्यासेन्जर, इमेल वा मोबाइल सन्देश मार्फत आउने चिठ्ठा परेको, महँगो मोबाइल जितिएको, विदेशबाट पार्सल आएको, सुन वा धन फेला परेको, छोटो समयमा अत्यधिक प्रतिफल पाइनेजस्ता आकर्षक प्रस्तावमा विश्वास नगर्न आग्रह गरेको छ।
राष्ट्र बैंकका अनुसार यस्ता सन्देशहरू ठगीका लागि पठाइने भएकाले यस्ता व्यक्तिहरू सँग व्यक्तिगत वा वित्तीय विवरण साझा गर्नु खतरनाक हुन सक्छ। ती विवरणहरूको दुरुपयोगबाट आर्थिक नोक्सानी हुन सक्ने भन्दै राष्ट्र बैंकले यसलाई स्पष्ट रूपमा वित्तीय ठगी को रूपमा व्याख्या गरेको छ।
बैंकले सर्वसाधारणलाई यस्ता छलपूर्ण सन्देशहरूबाट सचेत रहन, कुनै पनि शंका लागेमा नजिकको बैंक शाखा वा सम्बन्धित निकायमा सम्पर्क गर्न सुझाव दिएको छ।




.gif)





